बुधबार, ५ कार्तिक २०८२

स्थानीय गाईको संरक्षण गर्दै वागीश्वरीमा गौ तथा गोवर्द्धन पूजा

समयपोष्ट २०८२ कार्तिक ५ गते १५:२०


\
नारायणगढ (चितवन), ५ कात्तिकः श्रीवागीश्वरी आध्यात्मिक परिषद्अन्तर्गत योगी नरहरिनाथ आश्रम गौ संरक्षण केन्द्र, वागीश्वरी (भरतपुर) मा आज गाई तथा गोवर्द्धन पूजा गरिएको छ । विगतका वर्षहरूझैँ यस वर्ष पनि तीनदिनसम्म सामूहिक रूपमा गौ पूजन कार्यक्रम सञ्चालन गरिएको हो ।

Advertisement

आज अन्तिम दिन गाई तथा गोवर्द्धन पर्व मनाउँदै विशेष पूजा गरिएको आश्रमका अध्यक्ष अशोक पोखरेल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वागीश्वरीमा विसं २०६३ देखि स्थानीय गाईको संरक्षण गर्ने उद्देश्यले सामूहिक रूपमा गौ पूजनको परम्परा सुरु गरिएको हो । यस अवसरमा स्थानीय जातका गाईको गोबरबाट निर्मित गोवर्द्धन पर्वत निर्माण गरी पूजाआजा गरिनुका साथै भक्तजनले गाईको पूजा गरेका उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, “गाउँघरमा विकासको नाममा स्थानीय गाई हराउँदै गएका छन्, तर वागीश्वरीमा भने संरक्षण गरिएका गाईहरूको गोबरबाट पर्वत बनाएर पूजन गरिएको छ ।” उहाँका अनुसार आजको पूजामा भक्तजनहरूको उल्लेख्य उपस्थिति थियो । गाईलाई पूजा गरी आहारदान दिने भक्तजनको घुइँचो लागेको छ ।

देवघाटधाम प्रवेश मार्गमा अवस्थित यस केन्द्रमा हाल २०८ वटा स्थानीय जातका गाई, गोरु, बाछाबाछीको संरक्षण गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । केन्द्र दाताको सहयोगमा सञ्चालन भइरहेको छ भने मासिक करिब रु पाँच लाख खर्च हुने गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । “हाल केन्द्रमा रु एक करोडको अक्षयकोष भए पनि यसले मात्र पुग्दैन, दाताहरूको निरन्तर सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

गौ संरक्षण केन्द्रको सुरुवात विसं २०४३ मा योगी नरहरिनाथले माडीबाट सात वटा गाई ल्याई कोटीहोम सञ्चालन गरेसँगै भएको थियो । अहिले यहाँ गाईको सङ्ख्या बढेर २०८ पुगेको छ । यहाँ पालिएका सबै गाईहरू स्थानीय जातका छन् । अध्यक्ष शर्माले स्थानीय जातका गाई संरक्षणका लागि सबैको सहयोग र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री