शुक्रबार, १६ चैत २०८०

तीन वर्षदेखि यसै थन्किए करोडौँ मूल्यका सवारी साधन, लिलाम गर्न नसक्दा कबाड बन्दै

समयपोष्ट २०७८ साउन ७ गते १६:४०

Advertisement

लामो समयदेखि लिलाम नहुँदा सिरहाको ठाडी भन्सार कार्यालयमा राखिएका करोडौँ मूल्य बराबरका सवारी साधन कबाड बन्दै गएका छन् । लामो र झन्झटिलो प्रक्रिया भएका कारण विगत तीन वर्षदेखि भन्सार कार्यालयले लिलाम गर्न नसक्दा १२० मोटरसाइकल र पाँच जिप, कार कबाड बन्दै गएको हुन् ।

भन्सार कार्यालय परिसरमा थन्किएका कतिपय मोटरसाइकलका पाटपुर्जामा खिया लागेर लिलाम नै नहुने अवस्था भएको छ । “एकातिर समयमा लिलाम नहुँदा सवारी साधन कबाड बनिरहेका छन्, अर्काेतिर सवारी साधन थन्क्याउने ठाउँसमेत अभाव छ”, भन्सार प्रमुख नरेश साहले भने, “हामीले पटक–पटक लिलामी प्रक्रिया थाले पनि प्रक्रिया लामो र झन्झटिलो भएका कारण अझै लिलाम गर्न सकेका छैनौँ ।”

पत्राचार गरिएका अटोमोबाइल्स कम्पनीले विभिन्न बहाना बनाएर सवारी साधनको उत्पादन मिति नखुलाइ दिएकाले लिलामी प्रक्रिया नै रोकिएको उनको गुनासो छ । लहानस्थित मनकामना अटोमोबाइल्सका सञ्चालक शङ्कर चौधरीले आफूहरुसँग गाडीको उत्पादन मिति पत्ता लगाउने सफ्टवेयर नरहेकाले उत्पादन मिति खुलाउन नसकिएको बताए । यसका लागि सवारी उत्पादन गर्ने कम्पनीलाई नै पत्राचार गर्नुपर्ने उनको भनाइ छ ।

स्थापनाकालदेखि नै जनशक्तिको अभाव झेल्दै आएको ठाडी भन्सारलाई लामो समयदेखि लिलाम नहुँदा सवारी थन्क्याउने ठाउँको समेत अभाव छ । ठाउँ नपाएर खुलारूपमै सवारी राख्दा वर्षायाममा सवारी साधनका पाटपुर्जामा खिया लागेर कबाड बन्दै गएको उनको भनाइ छ ।

छोटी भन्सारबाट स्तरोन्नति भएर भन्सार कार्यालय स्थापना भए पनि दरबन्दीअनुसार कर्मचारी नहुँदा ठूलो समस्या झेल्दै आएको कार्यालय प्रमुख साहले बताए । कार्यालयमा कार्यालय प्रमुखसहित २० जनाको दरबन्दी भए पनि हाल कार्यालयमा प्रमुखसहित सात मात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा सवारी साधनको लिलामी प्रक्रियादेखि भन्सार राजश्व असुलीसम्म समस्या भइरहेको प्रमुख साहको भनाइ छ ।

कर्मचारी अभावका बाबजुद पनि ठाडी भन्सार कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले आव २०७७÷७८ मा लक्ष्यभन्दा रु दुई करोड ८९ लाख ९२ हजार बढी राजश्व सङ्कलन गरेको हो । रु छ करोड ५६ लाख २० हजार सङ्कलनको लक्ष्य रहेकामा रु नौ करोड ४६ लाख १२ हजार राजश्व सङ्कलन भएको कार्यालय प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री