बिहीबार, १९ असार २०८२

यातायात व्यवस्था विभागसँग नाडाको छलफल

समयपोष्ट २०८२ असार १७ गते १९:११


नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको एक प्रतिनिधिमण्डलले आज यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटघाट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयमा विस्तृत छलफल गरेको छ। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा भएको उक्त भेटमा सवारी साधन आयात, उत्पादन, र जडानसम्बन्धी प्रस्तावित निर्देशिका २०८२ मा केन्द्रित रहेर छलफल भएको हो।

Advertisement

अध्यक्ष चौधरीले यातायात व्यवस्था विभागले प्रस्तावित निर्देशिकाका लागि गरेको अध्ययन र तयारीको प्रशंसा गर्दै यस सम्बन्धमा नाडा र विभागबीच थप छलफल आवश्यक रहेको बताए। उनले निर्देशिकाका बुँदाहरूलाई व्यावहारिक र प्रभावकारी बनाउन गहन छलफलको आवश्यकता औंल्याए।

छलफलमा सहभागी नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरूमा थप स्पष्टता र छलफल जरुरी रहेको बताए। उनले निर्देशिकालाई यथार्थपरक र कार्यान्वयनयोग्य बनाउन सिलसिलेवार छलफल गर्नुपर्नेमा जोड दिए।

यसैगरी, नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरूलाई दण्डित र सही कार्य गर्नेहरूलाई पुरस्कृत गर्नुपर्ने धारणा राखे। उनले नेपालमा ब्याट्री उद्योगहरू स्थापना भइसकेको जानकारी दिँदै यस क्षेत्रको प्रवर्द्धनमा सरकारको सहयोग आवश्यक रहेको बताए।

विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले प्रस्तावित निर्देशिका तयार गर्न संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनका मापदण्डहरूको अध्ययन गरिएको जानकारी दिए। छलफलको अन्त्यमा महानिर्देशक पोखरेलले नाडाजस्ता मुख्य सरोकारवालाहरूसँग थप छलफल गरी नीतिगत स्पष्टता ल्याइने प्रतिबद्धता व्यक्त गरे। उनले नेपालमा सवारी साधन आयातसम्बन्धी स्पष्ट नियमको अभाव रहेको र यसलाई व्यवस्थित गर्न निर्देशिका तयार भइरहेको बताए। साथै, उनले नाडासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री