शुक्रबार, १६ चैत २०८०

पहिलो मात्रा कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा एस्ट्राजेनिका खोप

समयपोष्ट २०७८ साउन २ गते १३:०६

Advertisement

शरद् शर्मा
सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिए । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उनले बताए । निगमको वाइडबडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ ।

उनका अनुसार चीनसँग खरिद गरिएको खोप लिन यही साउन ७ गते पौनै ६ः०० बजे गएर अर्काे दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ । यस्तै साउन ७ गते पुनः जहाज गएर ८ गते र ९ गते १० गते खोप नेपाल ल्याइने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो ।

छिट्टै कोभिशिल्डको दोस्रो मात्रा ?

यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा छिट्टै दिइने बताए । उनले खोप केही दिनमा नै प्राप्त हुने जनाउँदै खोपको प्रतिक्षा गरिरहेका सबै ज्येष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताए ।

उनले कोभिशिल्डको दोस्रो मात्राका रूपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाइने बताए । जापान सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्स्टिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी तथा एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए ।

कोभ्याक्समार्फत कहाँ–कहाँबाट खोप ?

नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् ।

नेपालले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार मात्रा खोप प्राप्त भएको थियो । यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए। कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ ।

चीन र अमेरिकाबाट प्राप्त भएको खोप असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ व्यक्तिले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री