बिहीबार, १५ चैत २०८०

कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला सडकखण्ड निर्माण सम्पन्न

समयपोष्ट २०७८ साउन १ गते १०:४८

Advertisement

नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताए । प्रमुख कार्कीले भने, “कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाइ भए पनि सेनाले काम भने पूरा गरेको छ ।” हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथीचौरमा आयोजना गरिएको थियो ।

कर्णाली करिडोरको खुलालु–लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गरेका थिए । सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरणपछि सडकको जिम्मेवारी लिँदै आयोजना प्रमुख लामाले अब सडकको पूर्णरूपमा अपनत्व लिने बताए । कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको पनि उपस्थिति थियो । सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडक निर्माण पूरा गरेको हो । निमार्ण भएको कूल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर सडक पर्छ ।

कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । खुलालु–लैफु हुँदै सलीसल्ला खण्डको काम विसं २०७० मा सेनाले शुरु गरेको थियो भने हुम्ला खण्डमा २०७३ चैत ९ गतेबाट निर्माणकार्य शुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री