बुधबार, २९ असोज २०८२

दश जलविद्युत् आयोजनाको निःशुल्क सेयर माग गर्दै निर्माणमा अवरोध

समयपोष्ट २०८२ असोज २९ गते १५:५०


स्थानीयले निःशुल्क सेयर माग गर्दै निर्माणाधीन र निर्माणमा जान लागेका विभिन्न १० जलविद्युत् आयोजनामा अवरोध गरेका छन्।

Advertisement

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो। इप्पानका अनुसार बलेफी हाइड्रोपावर (३६ मेगावाट), मुनलाइट हाइड्रोपावर (२२ मेगावाट), सेवा हाइड्रोपावर (१.५ मेगावाट), राइजिङ हाइड्रोपावर (१.५ मेगावाट), गाउँघर उज्यालो हाइड्रोपावर (१.५ मेगावाट), याम्बुलिङ हाइड्रोपावर (७ मेगावाट), बलेफी इनर्जी हाइड्रोपावर (४० मेगावाट), अपर बलेफी हाइड्रोपावर (३६ मेगावाट), नेसमखोला हाइड्रोपावर (४१ मेगावाट) र सिता हाइड्रोपावर (४६ मेगावाट) आयोजनामा स्थानीयले अवरोध गरेका छन्।

कतिपयले समयमै सेयर जारी नगरेको भन्दै आयोजनामा अवरोध गर्न थालेका छन्। स्थानीयले १० प्रतिशत निःशुल्क सेयरका साथै सडक, विद्यालय, स्वास्थ्य सेवासहितका पूर्वाधार विकासमा लगानी गर्न माग गरेका छन्।

धितोपत्र बोर्डले समयमै आईपीओ निष्कासनमा स्वीकृति नदिँदा ऊर्जा उत्पादक कम्पनीहरूलाई समस्या भएको छ। समयमै आईपीओ जारी नगरेको भन्दै स्थानीयले धम्क्याउने अवस्था सिर्जना भएको इप्पानले बताएको छ। गैरकानुनी रूपमा निःशुल्क सेयर माग्नेको मनोबल बढेको कारण पनि यस्तो अवस्था आएको इप्पानको भनाइ छ। निजी क्षेत्रले धितोपत्र सूचीकरण तथा वितरण नियमावली २०६५ अनुसार प्रभावित स्थानीयलाई १० प्रतिशत सेयर दिँदै आएको छ। विगतको अभ्यासलाई निरन्तरता दिइने भए पनि विद्यमान नियम र कानूनविपरीत निःशुल्क सेयर दिन नसकिने इप्पानले स्पष्ट पारेको छ।

निःशुल्क सेयरको नाममा आयोजना निर्माणमा अवरोध नगर्न र यस्ता गतिविधिलाई निरुत्साहित गर्न उचित शान्ति सुरक्षासहितको लगानी वातावरण बनाउन सरकारसँग माग गरिएको छ।

Advertisement

इप्पानले सुरक्षा निकायका प्रमुखहरू र स्थानीय पालिकाका प्रमुखहरूको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। साथै, नेपाल सरकारलाई ऊर्जा आयोजनाको सुरक्षा नीति निर्माण गर्न र विशेष सुरक्षा दस्ता गठन गर्न अनुरोध गर्ने निर्णय भएको छ। प्रत्येक आयोजनामा शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय, रक्षा मन्त्रालय र स्थानीय पालिकालगायत सम्बन्धित निकायमा सुरक्षाकर्मी व्यवस्थापनका लागि अनुरोध गरिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री