शुक्रबार, ३१ असोज २०८२

कामना सेवा विकास बैंकले ल्यायो नेपालकै पहिलो ‘डोर स्टेप बैंकिङ सर्भिस’

समयपोष्ट २०८२ असोज ३० गते १५:०८

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट बचत खाता अन्तर्गत नेपालकै पहिलो ‘डोर स्टेप बैंकिङ सर्भिस’ सार्वजनिक गरेको छ। यो सुविधाले नेपालको बैंकिङ क्षेत्रमा नयाँ युगको सुरुवात गरेको बैंकले दाबी गरेको छ। विशेषगरी दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नपुगी बैंकिङ सुविधा लिन चाहने ग्राहकहरूलाई यो सेवा प्रत्यक्ष फाइदाजनक हुने बैंकको भनाइ छ।

अत्याधुनिक प्रविधिमा आधारित यस सेवामार्फत ग्राहकहरूले आफ्नो घर वा कार्यालयमै बसेर नगद जम्मा गर्ने, खाताबाट नगद झिक्ने, चेक बुक माग गर्ने, बैंक स्टेटमेन्ट, ब्यालेन्स सर्टिफिकेटलगायत अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्। यी सबै सुविधाहरू निःशुल्क रूपमा उपलब्ध गराइने बैंकले जनाएको छ।
ग्राहकले बैंकको मोबाइल बैंकिङ एपमार्फत सेवा अनुरोध गर्न सक्नेछन्। अनुरोध प्राप्त भएपछि बैंकका प्रतिनिधिले ग्राहकको अनुरोधित स्थानमा पुगेर सेवा प्रदान गर्नेछन्। यसले डिजिटल बैंकिङको प्रवर्द्धन गर्दै बैंकिङ पहुँचलाई सहज, सरल र प्रविधिमैत्री बनाउने बैंकको विश्वास छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर सुरु गरिएको यो सेवा नेपालकै पहिलो डोर स्टेप बैंकिङ सर्भिस हो। विश्वका केही विकसित देशहरूमा ग्राहकको घरमै पुगेर बैंकिङ सेवा दिने प्रचलन रहे पनि नेपालको बैंकिङ इतिहासमा यो पहिलो पटक भएको बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीले बताए।

उनका अनुसार, ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै डिजिटल प्रविधिमा आधारित यो सुविधा ल्याइएको हो। यसले ग्राहकहरूलाई समयको बचत, सहजता र सुरक्षाको अनुभूति दिनेछ। यो सेवा दैनिक व्यस्त व्यवसायी, कार्यालय कर्मचारी, गृहिणी र ज्येष्ठ नागरिकहरूका लागि विशेष उपयोगी हुने बैंकले जनाएको छ। लामो लाइन, बैंक पुग्ने झन्झट र कागजी प्रक्रियाबिना घरमै बसेर बैंकका सुविधा उपभोग गर्न सकिनेछ। यसअन्तर्गत बैंकको लकर सुविधा, एटीएम डेबिट कार्ड र मोबाइल बैंकिङ पनि निःशुल्क उपलब्ध छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री