
आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले रोजगार गन्तव्यका लागि बाहिरी मुलुक नै रोज्ने गरेको डरलाग्दो तथ्याङ्क बाहिरिएको छ । नेपाल मेडिकल काउन्सिलले वार्षिक रूपमा झन्डै २ हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गरे पनि त्यत्तिकै सङ्ख्यामा चिकित्सकहरू विदेश जानका लागि ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गर्छन् ।
काउन्सिलमा सन् २०२५ मा २ हजार १ सय २२ जनाले लाइसेन्स लिएका थिए भने सोही वर्ष २ हजार ३ सय ९० जना चिकित्सकले विदेश जानका लागि चारित्रिक प्रमाणपत्र लिएका छन् । यो सङ्ख्या लाइसेन्स लिनेको तुलनामा २ सय ६८ जनाले बढी हो ।
काउन्सिलको चारित्रिक प्रमाण प्रमाणीकरण शाखा प्रमुख प्रदीप रिजालले सन् २०२० यता १३ हजार १ सय ४० चिकित्सकले लाइसेन्स लिएको र ११ हजार ६८ चिकित्सक बाहिरी मुलुक जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको बताए । काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले विगत १० वर्षदेखि चिकित्सकहरू राम्रो सेवा सुविधा र आकर्षक तलबका लागि विदेश जाने गरेको जानकारी दिए ।
नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने भएकाले स्नातकोत्तर तह पढ्न र अस्पतालमा काम गर्न चिकित्सकहरूले चारित्रिक प्रमाणपत्र लिने गरेको उनको भनाइ छ ।
काउन्सिलको तथ्याङ्कअनुसार सन् २०२० यता अमेरिकामा २ हजार ९ सय ९५ जना र बेलायतमा २ हजार ६ सय ३७ जना चिकित्सक गएका छन् । त्यस्तै माल्दिभ्समा २ हजार २ सय ४१ जना, भारतमा ९ सय १८ जना, अष्ट्रेलियामा ८ सय ४८ जना, संयुक्त अरब इमिरेट्समा ७ सय २० जना, क्यानडामा १ सय ४८ जना र जर्मनीमा ९२ जना चिकित्सक गएका छन् ।
नेपाली चिकित्सकहरू विभिन्न २३ मुलुकमा जाने गरेको काउन्सिलको रेकर्डमा देखिन्छ ।
सन् २०२० मा ८ सय ६९ जना चिकित्सकले मुलुक बाहिर जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएका थिए । यो सङ्ख्या क्रमशः बढ्दै सन् २०२१ मा १ हजार ३ सय २७, सन् २०२२ मा १ हजार ९ सय ५४, सन् २०२३ मा २ हजार ३ सय १८ र सन् २०२४ मा २ हजार २ सय १० पुगेको छ ।
निमित्त रजिष्ट्रार पाण्डेका अनुसार नेपालबाट धेरैजसो चिकित्सकहरू पढ्नभन्दा पनि विदेशमा गएर जागिर खानका लागि जाने गरेका छन् ।
काउन्सिलबाट दर्ता प्रमाणपत्र लिने चिकित्सकको सङ्ख्या सन् २०२० मा २ हजार १ सय ३१, सन् २०२१ मा १ हजार ७ सय १६, सन् २०२२ मा २ हजार ८५, सन् २०२३ मा २ हजार ६ सय ९२ र सन् २०२४ मा २ हजार ३ सय ९४ रहेको छ । नेपालमा पर्याप्त सेवा सुविधा कम भएकै कारण चिकित्सकहरू बाहिरिने क्रम बढेको हो । काउन्सिलमा अहिलेसम्म ३९ हजार ४ सय ८६ जना चिकित्सकले लाइसेन्स लिइसकेका छन्









प्रतिक्रिया