
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज बिहान ८ः३० बजेदेखि बन्दसत्र हुने भनिए पनि निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रतिनिधिहरुको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र पनि प्रभावित भएको हो ।
महाधिवेशन स्थलको मुख्य प्रवेशद्वारमा प्रहरी र निजी सुरक्षा गार्ड परिचालन गरी मेटल डिटेक्टरमार्फत कडा जाँचबुझ गरेर मात्र प्रवेश दिइएको छ। बन्द सत्र हलभित्र गैरअधिकारिक व्यक्तिहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गर्दै परिचयपत्र अनिवार्य गरिएको छ।
बन्दसत्रमा सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गरेपछि त्यसमाथि छलफल सुरु भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सोमबार नै कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीको सङ्गठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची छ।
यसैगरी सहमहामन्त्रीले विधानमाथिको छलफल र अनुमोदन गराएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरेसँगै आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने तालिका छ।
केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले सोमबार दिउँसो १ः०० बजेपछि उम्मेदवार मनोनयन फारम वितरण गरिने जानकारी दिए। दिउँसो २ः०० देखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने राति ११ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
महाधिवेशनको बन्दसत्रमा प्रतिनिधि, परिवेक्षक र स्वयंसेवक गरी ४ हजार २ सय ११ जना सहभागी रहेका छन्। महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूसँग खाना र नास्ता व्यवस्थापनका लागि भन्दै ५ हजार रुपैयाँ शुल्क उठाइएको छ।
असार ९ गते मङ्गलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म पहिलो चरणको मतदान प्रक्रिया सुरु गरिनेछ। यस निर्वाचनमार्फत रास्वपाले एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्ने तयारी गरेको छ।
मतदान सकिएको दुई घण्टापछि पहिलो चरणको मत गणना र मत परिणाम घोषणा गरी दोस्रो चरणको प्रक्रिया अघि बढाइनेछ।










प्रतिक्रिया