
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले देशका ७७ वटै जिल्लामा सडक सञ्जाल पुगेपनि पूर्वाधारको अवस्था अझै पर्याप्त र सुरक्षित नरहेको बताएका छन्।
काठमाडौंमा शुक्रबार आयोजित ‘नेपाल फ्युचर फोरम २०२६’ को पहिलो वार्षिक सम्मेलनमा बोल्दै उनले सडकको गुणस्तर कमजोर हुँदा दुर्घटना बढेको र सडकहरू ‘मृत्युमार्ग’ जस्तो बनेको टिप्पणी गरे।
हाल नेपालमा करिब १ लाख ४ हजार ९ सय किलोमिटर सडक सञ्जाल विस्तार भएको जानकारी दिँदै उनले सबै जिल्लाका नागरिकले यातायात सुविधा पाएपनि कर्णालीलगायतका दुर्गम क्षेत्रमा अझै पहुँच सहज हुन नसकेको बताए। मुलुकमा हुने मृत्युका प्रमुख कारणमध्ये सडक दुर्घटना पनि एक रहेको उनको भनाइ छ।
खानेपानीको पहुँच र गुणस्तरमा चुनौती
पूर्वउपाध्यक्ष डा. श्रेष्ठले हाल ९७ प्रतिशत नागरिकसम्म पिउने पानी पुगेपनि गुणस्तरीय र नियमित आपूर्तिको सुनिश्चितता अझै चुनौतीका रूपमा रहेको उल्लेख गरे। देशमा केही पनि विकास भएको छैन भन्ने भाष्य गलत भएको टिप्पणी गर्दै उनले उपलब्ध सेवाहरूमा सन्तुष्ट भइहाल्ने वातावरण भने नरहेको प्रस्ट पारे।
काठमाडौं उपत्यकाको उदाहरण दिँदै उनले मेलम्ची खानेपानी आयोजना आएपनि व्यवस्थापकीय कमजोरीका कारण आपूर्ति नियमित हुन नसकेको बताए। उपभोक्ताले कहिले धेरै पानी पाउने त कहिले महिनाौंसम्म नपाउने अवस्था रहेको भन्दै उनले वितरण प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए।










प्रतिक्रिया