
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । राष्ट्रिय योजना आयोगमा शुक्रबार आयोजित आगामी आर्थिक वर्ष २०८३/८४ को मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन पूर्वतयारीसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।
कर्मचारी वृत्तमा नयाँ सरकारलाई लिएर अन्योल र त्रास रहेको पाइएको भन्दै उनले त्यस्तो सोचेर समय खेर नफाल्न आग्रह गरे । राम्रा र काम गर्ने हुटहुटी भएका राष्ट्र सेवकलाई सरकारले संरक्षण गर्ने र अवकाशपछि पनि राज्यको जिम्मेवारीमा खोजीखोजी ल्याउने उनले प्रतिवद्धता जनाए ।
निजामती सेवा, सुरक्षा अङ्ग, स्वास्थ्य र शिक्षा क्षेत्रलाई दलीयकरणबाट पूर्ण रूपमा ‘डिपार्चर’ गराउने योजनामा सरकार रहेको उनले स्पष्ट पारे । कर्मचारी संयन्त्रमा सुधार ल्याउन ट्रेड युनियन खारेज गरेर त्यसको सुरुआत गरिसकिएको जानकारी उनले दिए ।
चालू आर्थिक वर्षको हालसम्म पुँजीगत खर्च जम्मा ३१ प्रतिशत मात्रै हुनु चिन्ताजनक रहेको भन्दै उनले विगतको यो गलत नजिर आगामी दिन दोहोरिन नहुने बताए । असारे विकासका नाममा बत्तिएर खर्च गर्दा पनि ५० प्रतिशतसम्म मात्र पुग्ने अवस्था रहेको भन्दै आगामी वर्ष यस्तो नतिजा स्वीकार्य नहुने उनले चेतावनी दिए ।
विपुल जनादेश प्राप्त वर्तमान सरकारलाई जनतामाझ नतिजा देखाउनुपर्ने ठूलो दबाब रहेको उनले उल्लेख गरे । साउन १ गतेदेखि अर्थ मन्त्रालयले रुपान्तरणका नयाँ एजेन्डाहरूलाई तीव्र रूपमा अघि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए ।
सरकारको नीति, बजेट र १०० बुँदे शासकीय सुधारका कार्यक्रमलाई जग मानेर आगामी पाँच वर्षको स्पष्ट मार्गचित्र बनाउन उनले योजना आयोगलाई निर्देशन दिए । बजेट आउने तर कार्यान्वयन नहुने पुरानो भाष्यलाई यसपटकको बलियो सरकारले जसरी पनि चिरेर छाड्ने दाबी उनले गरे ।










प्रतिक्रिया