
बिहे गरेर अमेरिका लैजाने लोभमा परेर लाखौँ रुपैयाँ गुमाउनुपर्ने अवस्थाप्रति प्रहरीले सचेत गराएको छ। यस्ता ठगीका घटना नेपालमा बढ्दै गएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको हो।
हालै काठमाडौँमा यस्तै प्रकृतिको एउटा ठगीको घटना सार्वजनिक भएको छ। आफू अमेरिकामा रहेको र नेपाली बोल्न नआउने बहाना पार्दै टिकटक र ह्वाट्स एपमार्फत लाखौँ ठगी गर्ने कार्यमा संलग्न दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रिन्स तमाङ नामको टिकटक आइडीबाट आफ्नो अनुहार नलुकाई अङ्ग्रेजी भाषामा कुराकानी गरी एक पीडितलाई विवाह गरेर अमेरिका लैजाने प्रलोभन देखाइएको थियो। साइबर ब्युरोका अनुसार ती व्यक्तिले आफ्नी बहिनी सरगम तमाङ भन्दै ह्वाट्स एपमा कुराकानी गर्न लगाएर पीडितबाट पटकपटक गरी १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए।
पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान गर्दा प्रिन्स तमाङ भन्ने व्यक्ति सञ्जिव नेपाली र बहिनी बनेर कुरा गर्ने उनकी श्रीमती सरिता पराजुली (अनुष्का) रहेको खुलेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
ब्युरोबाट खटिएको प्रहरी टोलीले स्याङ्जा घर भई काठमाडौँको माछापोखरी बस्ने सञ्जिव र सरितालाई मंगलबार पक्राउ गरेको थियो। उनीहरूलाई विद्युतीय माध्यमसम्बद्ध ठगी अपराध मुद्दामा बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको गिरीले बताए।
अदालतले उनीहरूलाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेकाले ब्युरोबाट विस्तृत अनुसन्धान अघि बढाइएको छ। प्रहरीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरूले दिने प्रलोभनमा नपर्न र ठगीबाट बच्न आवश्यक सावधानी अपनाउन समेत आग्रह गरेको छ।










प्रतिक्रिया