
संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय परिवार विप्रेषण दिवस (आइडिएफआर) मङ्गलबार विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइए। विश्वका २० करोडभन्दा बढी आप्रवासी श्रमिकले आफ्नो परिवार र समुदायको जीवनस्तर उकास्न पुर्याएको योगदानको सम्मानमा हरेक वर्ष जुन १६ मा यो दिवस मनाइँदै आइएका छन्।
यस वर्षको दिवसका अवसरमा विप्रेषणलाई केवल पारिवारिक खर्च धान्ने माध्यमका रूपमा मात्र नभई ग्रामीण उद्यमशीलता, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक रूपान्तरणको महत्वपूर्ण स्रोतका रूपमा उपयोग गर्न आह्वान गरिएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार आप्रवासी श्रमिकहरूले पठाउने विप्रेषणबाट विश्वभर करिब ८० करोड परिवारका सदस्य लाभान्वित छन्।
ग्रामीण अर्थतन्त्र र दिगो विकासको आधार
विगत एक दशकमा आप्रवासीहरूले न्यून तथा मध्यम आय भएका मुलुकहरूमा करिब ५ खर्ब अमेरिकी डलर विप्रेषण पठाएका छन्। यो रकम वैदेशिक विकास सहायताभन्दा बढी तथा प्रत्यक्ष वैदेशिक लगानीसरह रहेको र यसको एकतिहाइभन्दा बढी हिस्सा ग्रामीण क्षेत्रमा पुगेको अनुमान छ।
हाल न्यून तथा मध्यम आय भएका मुलुकहरूमा वार्षिक करिब ७ सय अर्ब अमेरिकी डलर बराबरको विप्रेषण भित्रिने गरेको छ। सन् २०३० सम्म थप ४.४ खर्ब अमेरिकी डलर विप्रेषण यस्ता मुलुकहरूमा प्रवाह हुने अनुमान गरिएको छ।
लागत न्यूनीकरण र उद्यमशीलतामा जोड
दिगो विकास लक्ष्यले आप्रवासी विप्रेषणको कारोबार लागत ३ प्रतिशतभन्दा कममा झार्ने तथा ५ प्रतिशतभन्दा बढी लागत लाग्ने मार्गहरू हटाउने लक्ष्य लिएको छ। हाल विप्रेषणको करिब ७५ प्रतिशत हिस्सा परिवारका तत्कालीन आवश्यकतामा खर्च हुने र बाँकी २५ प्रतिशत बचत तथा लगानीका लागि उपयोग हुन सक्ने अनुमान छ।
विश्वका ८० भन्दा बढी मुलुकको कुल गार्हस्थ्य उत्पादनमा विप्रेषणको हिस्सा कम्तीमा ३ प्रतिशत रहेको छ। ३० वटा मुलुकमा यो हिस्सा १० प्रतिशतभन्दा बढी रहेकाले विप्रेषण सामाजिक–आर्थिक रूपान्तरणको महत्वपूर्ण आधार बनेको देखाउँछ।










प्रतिक्रिया