उपत्यकामा मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८ सय मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ।

Advertisement

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार खानेपानी वितरणका लागि प्रयोग गरिएको यो नेपालकै हालसम्मकै सबैभन्दा ठूलो साइजको पाइप हो।

भक्तपुर, कीर्तिपुर, मध्यपुरथिमि, कपन, जोरपाटी तथा पेप्सीकोला क्षेत्रमा खानेपानी वितरण विस्तारका लागि निर्माण प्रक्रिया अगाडि बढाइएको निर्देशनालय प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठले बताए। पाँच क्षेत्रमा खानेपानी वितरण सञ्जाल विस्तारका लागि बोलपत्र आह्वान भइसकेकाले अब चाँडै अन्य प्रक्रिया सुरु हुने उनले जानकारी दिए।

Advertisement

मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पुर्‍याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा काम गरिरहेको छ। हाल विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका पिआइडीले जनाए।

बिछ्याइएका पाइपको परीक्षण सम्पन्न भएपछि सम्पूर्ण प्रणाली काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई हस्तान्तरण गरिनेछ। सिस्टम हस्तान्तरणपछि काठमाडौँवासीका घरघरमा नियमित रूपमा मेलम्चीको पानी वितरण हुने इन्जिनियर श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री