
गण्डक नहरमा पानी उपलब्ध भएपछि पश्चिम नवलपरासीका किसानले यतिखेर धमाधम धान रोपाइँ सुरु गरेका छन् ।
नहरमा पानी आएपछि जिल्लाको रामग्राम नगरपालिकासहित सरावल र पाल्हीनन्दन गाउँपालिकाका किसान खेतमा व्यस्त बनेका हुन् ।
रासायनिक मलको अभाव र काम गर्ने जनशक्ति नहुँदा पनि किसानहरू घरकै सदस्य मिलेर धान रोप्न जुटेका छन् । पाल्हीनन्दन–४ पाल्हीका किसान रामसिंह कुर्मीले नहरमा समयमै पानी आएकाले मल अभाव भए पनि कुरेर बस्न नसकी रोपाइँ थालेको बताए ।
गत वर्ष पनि मल नपाएर धान उत्पादन घट्ने चिन्ता झेलेका किसानहरू यस वर्ष पनि उस्तै समस्यामा छन् ।
पानी पर्ने आशमा यस वर्ष छिट्टै बीउ राखेका किसानहरूले अहिले छोटो बीउ नै रोप्न थालेका छन् । अर्का किसान त्रिभुवन कुर्मीका अनुसार छिमेकीहरूले रोपाइँ सुरु गरेपछि खेतमा ट्याक्टर जाने बाटो बन्द हुने डरले पनि कतिपयले छोटो बीउ नै रोपेका हुन् ।
पश्चिम गण्डक नहरका प्रमुख तिलकराम बुढाथोकीले ३२ किलोमिटर लामो नहरमा ३६ घण्टाभित्रै पानी पुर्याइएकाले किसानलाई रोपाइँमा सहज भएको बताए ।








प्रतिक्रिया