शुक्रबार, ३० जेठ २०८२

पुनः घट्यो नेप्से, यी तीन स्टकको शेयर सकारात्मक सर्किटमा

समयपोष्ट २०८२ जेठ २८ गते १५:४२

Advertisement

बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ।

लगातार दुई कारोबार दिन बढेको नेप्से बुधबार भने १३.६९ अंकले झरेर २६६४.४७ विन्दुमा पुगेको छ। कारोबार रकम पनि घटेको छ। मंगलबार १० अर्ब १६ करोडको शेयर कारोबार भएको बजारमा बुधबार ३०७ स्टकको ८१,७०३ पटकको कारोबारमा ९ अर्ब ९० करोड ७० लाख ५ हजार रुपैयाँबराबरको २ करोड २० लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ।

तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुटवल पावर कम्पनी, पियोर इनर्जी र सिनर्जी पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किटमा पुगेको हो। रिभरफल्स पावरको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ४.८३ प्रतिशतले घटेर सर्वाधिक ओरालो लागेको छ।

कारोबार रकममा राधी विद्युत कम्पनी शीर्ष स्थानमा छ, जसको ६१ करोड ५७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। सानिमा माइ हाइड्रोपावरको ५९ करोडभन्दा बढी र बुटवल पावर कम्पनीको साढे ५८ करोडको शेयर किनबेच भएको छ।

Advertisement

१३ उपसमूहमध्ये ११ को परिसूचक घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। वित्त, होटल तथा पर्यटन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक भने स्थिर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री