बजेट कार्यान्वयनको गृहकार्यमा अर्थ मन्त्रालय, खरिद प्रक्रिया अघि बढाउन निर्देशन
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ। मन्त्रालयमा आयोजना गरिएको उच्चस्तरीय बैठकमा नीति, कार्यक्रम, बजेट र कार्यान्वयन माइलस्टोनबीच तादात्म्यता मिलाउँदै छिटो कार्यान्वयन सुनिश्चित गर्न रणनीति तय गरिएको हो।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा उल्लेख गरिएका कार्यक्रम तथा आयोजनाहरूको खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिए। “बजेट स्वीकृत भएपछि सम्झौता गर्न सकिने गरी तयारी गर्नुपर्छ, यसले काम छिटो गर्न सहयोग पुग्छ,” पौडेलले भने।
मुख्य सचिव एकनारायण अर्यालले बजेटअनुसार खरिद प्रक्रिया अघि बढाउन छुट्टै कानूनी संरचना आवश्यक नरहेको स्पष्ट पार्दै कार्यान्वयनको गति बढाउन सकिने धारणा राखे।
बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा जोड दिइएको थियो। यसै सन्दर्भमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र कागजात पूरा भएका योजनाका लागि रकमान्तर र अन्य सहजीकरण अर्थ मन्त्रालयले तुरुन्त गर्ने जानकारी दिए।
सचिव उपाध्यायले मन्त्रालयहरूलाई सम्बोधन गर्दै भने, “प्रक्रिया पुगेका र कार्यान्वयन योग्य योजना मात्र पठाउनुहोस्। आवश्यकता परे बिदा र शनिबार पनि काम गरेर प्रक्रियालाई अगाडि बढाउँछौं।”
प्रतिक्रिया