रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, वकिलले तिरे जरिवाना
तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा हालसम्म सम्पर्कमा नआएपछि जिम्मा जमानी लिएका वकिललाई जरिवाना गरिएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार दुवै नेता हाजिरी जमानीमा छुटेपछि अदालती प्रक्रिया अनुसार उपस्थित नहुँदा उनीहरूका वकिललाई जनही ५०/५० हजार रुपैयाँ जरिवाना तिराइएको हो। ‘हाजिरी जमानीमा लिई छाडिएपछि उनीहरूलाई अदालतमा उपस्थित गराउन नसकेकाले वकिललाई जरिवाना गरिएको हो,’ एसपी बोहराले जानकारी दिए।
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ अनुसार हाजिरी जमानीमा छुटेका व्यक्ति तोकिएको समयमा उपस्थित नभएमा जमानी लिने व्यक्तिलाई जरिवाना गर्न सकिने प्रावधान छ। सोही अनुसार अनुसन्धान अधिकृतले जरिवाना तोकेको हो।
गत चैत १५ गते तीनकुनेमा राजावादीहरुले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो। मिश्रलाई हिरासतमा लिएपछि उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। अदालतको आदेशपछि जेठ २ गते मिश्रलाई वकिलको जिम्मा लगाएर छाडिएको थियो भने राणा ७ वैशाखमै उपचारको कारण देखाएर छुटेका थिए।
प्रतिक्रिया