माओवादी पदाधिकारी बैठक : गृहमन्त्रीको राजीनामा भन्दा छानबिनलाई प्राथमिकता
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनलाई प्राथमिकता दिने निष्कर्ष निकालेको हो।
पार्टी प्रवक्ता अग्नि सापकोटाले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “हामीले व्यक्ति विशेषको कुरा गरेका छैनौं। मुख्य कुरा छानबिनको हो। यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने कुरामा हामी एकमत छौं।”
उनका अनुसार माओवादी केन्द्रले सरकार तथा विपक्षी दलहरूसँग संवाद गरेर गतिरोध तोड्ने पहल गर्नेछ। उनले भने, “सरकारले हाम्रो प्रस्तावलाई कसरी लिन्छ भन्ने कुराले पनि आगामी निर्णयहरूमा प्रभाव पार्नेछ।”
प्रतिनिधिसभामा अहिले प्रमुख विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरुद्ध गरिरहेका छन्। उनीहरू छानबिन समितिको गठन पनि प्रमुख मागका रूपमा अघि सारेका छन्। यता माओवादी केन्द्रले भने गृहमन्त्रीको राजीनामाको सट्टा छानबिन प्रक्रियामा जोड दिने पक्षमा देखिएको छ।
प्रवक्ता सापकोटाले भने, “हामी जिम्मेवार प्रतिपक्ष हौं। रचनात्मक र सिर्जनात्मक सहयोग गरेर जाने सोचमा छौं। वार्तापछि सदनबारे ठोस निर्णय हुने अपेक्षा राखेका छौं।”
प्रतिक्रिया