देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा, भोलिदेखि सवारी साधन ग्यारेजमा थन्किने

गण्डकी प्रदेश सरकारले लागू गरेको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरूले सोमबार (१९ जेठ २०८२) देखि देशभर अनिश्चितकालीन यातायात बन्द गर्ने घोषणा गरेका छन्।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक यातायातका सवारी साधनहरू ग्यारेजमा थन्क्याएर आन्दोलन गर्ने निर्णय गरेको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले गण्डकी प्रदेश सरकारले निजी प्रयोजनका लागि दर्ता गरिएका सवारी साधनलाई भाडामा प्रयोग गर्न अनुमति दिने नियमावली तत्काल खारेज गर्न माग गरेका छन्। उनले सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाएर समस्या समाधानको माग गरे पनि सुनुवाइ नभएको बताए। “हामीले पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन। त्यसैले भोलिदेखि सवारी साधन ग्यारेजमा राखेर आन्दोलनमा उत्रिन बाध्य भएका छौँ,” राईले भने।
‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार जारी गरेको विज्ञप्तिमा बन्दका कारण उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “मिति २०८२ जेठ १९ गतेदेखि हुने यातायात बन्दले आम यात्रु, मजदुर, कर्मचारी र उपभोक्तालाई पर्ने असरप्रति हामी संवेदनशील छौँ। तर, सार्वजनिक यातायातको अस्तित्व जोगाउन यो कदम चाल्नुपरेको छ। हामी सबै सरोकारवाला निकाय, यात्रु र मजदुरहरूलाई यो आन्दोलनमा सहयोग गर्न हार्दिक अपिल गर्छौँ।”
यो बन्दले देशभरको सार्वजनिक यातायात सेवा प्रभावित हुने देखिएको छ। व्यवसायीहरूले नियमावली खारेज नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन्।





























प्रतिक्रिया