शुक्रबार, १४ वैशाख २०८१

कमाउनकै लागि बिमा कम्पनीहरु सीमा नाघे : अर्थमन्त्री खतिवडा

समयपोष्ट २०७६ जेठ २ गते १३:४४

Advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाले जोखिम न्यूनीकरणका लागि जीवन तथा निर्जीवन बीमा गर्ने कम्पनीहरु आफैं असुरक्षित हुने गरेको बताएका छन् ।

बुधबार राजधानीमा आयोजित बिमा संस्थानको ५१ औँ वार्षिकोत्सवका अवसरमा डा.खतिवडाले बीमा कम्पनीहरुको संख्यात्मक वृद्धि भएपनि गुणात्मक वृद्धि हुन नसकेको भन्दै दीर्घकालीन योजनासहित टिक्नेगरी अघि बढ्नु पर्ने बताए ।

‘आजभोलि बैंक तथा वित्तीय संस्थानहरु जस्तै बीमा कम्पनीहरुको दायरा समेत फराकिलो हुँदै गएको छ । अब बीमा कम्पनीको नियामक निकाय बीमा समिति सक्रिय हुनुपर्छ’ उनले भने, ‘बजारमा व्यापक अस्वस्थ प्रतिस्पर्धा छ । कमाउनकै लागि बिमा कम्पनीहरु आफ्नो सीमा नाघेर काम गरिरहेका छन् । चाहिने भन्दा बढी स्किमहरु विज्ञापन गरिरहेका छन् । यसले सेवाग्राही प्रताडित छन् ।’

उनले आफूलाई केके र कुनकुन खालको जोखिमको सुरक्षण चाहिएको अब बिमित पनि स्पष्ट हुनुपर्ने खतिवडाले बताए । अन्यथा जोखिम सुरक्षणका लागि बीमा गरिएपनि उल्टै असुरक्षित बन्ने खतरा बढ्नसक्ने तर्फ उनले सचेत गराए ।

खुल्ला बजार र खुल्ला अर्थतन्त्रकै कारण नीजि कम्पनीहरुले सहजै लाईसेन्स पाएको तर कारोबार भने प्रभावकारी रुपमा गर्न नसकेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

‘बीमा कम्पनीमा न्यूनतम चुक्तापुँजी सिलिङ्गको व्यवस्था गर्दा कम्पनी र सेवाग्राही दुबै सुरक्षित हुन्छन् । यसले कम्पनीमा पुँजी अभाव हुन दिँदैन भने सेवा ग्राहीको बीमा दाबी समेत समयमानै सम्वोधन हुन्छ’, उनले भने, ‘अब चुक्तापुँजी नपुगेका कम्पनीहरुले पुँजी विस्तारमा लाग्नुपर्छ । त्यसका लागि मर्जरको प्रक्रिया समेत खुल्ला रहेको छ ।’

२०७५ साल असार मसान्तसम्म निर्जीवन बिमाले १ अर्ब रुपैयाँ र जीवन बिमाले २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्ने भनिएको थियो । सोही निर्देशिकामा तीन—तीन महिना गरेर २ पटक थप समय दिनसक्ने प्रावधान समेत राखिएको थियो । जुन २०७५ पुस मसान्त हो । अहिले यो समयसिमा समेत सकिएको छ । अहिलेसम्म पनि अधिकांश बिमा कम्पनीहरुले पुँजी वृद्धिका लागि काम गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री