बिहीबार, १३ कार्तिक २०८२

सरकारले रिक्त राजदूत पदमा नियुक्ति नगर्ने

समयपोष्ट २०८२ कार्तिक १३ गते १७:२८

Advertisement

सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने निर्णय गरेको छ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले यो जानकारी दिएका हुन्।

मन्त्री खरेलका अनुसार, वर्तमान सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएको हुँदा नयाँ राजदूत नियुक्त नगर्ने नीति लिएको हो। अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने उनले बताए।

प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिका र कार्य मूल्याङ्कनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको पनि स्पष्ट पारे।

Advertisement

यसैगरी, मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा आयोजना हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिएको छ।

बैठकले वैदेशिक रोजगार, अदालतका मुद्दा व्यवस्थापन, वैदेशिक अध्ययन अनुमति सेवा, अध्यागमन, नागरिकता, सामाजिक सुरक्षा, बन्दीको पहिचान लगायतका सेवाका लागि विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा रहेको तथ्याङ्कमा पहुँच उपलब्ध गराउन सक्ने गरी क्षेत्र तोक्ने निर्णय गरेको छ।

त्यस्तै, समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालय मातहत रहने गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय पनि भएको प्रवक्ता खरेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री