१० वाणिज्य बैंकको गुणस्तर परीक्षणका लागि बङ्गलादेशी कम्पनी छनोट
नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका १० वटा वाणिज्य बैंकहरूको ऋण (सम्पत्ति) गुणस्तर परीक्षण (एनपीआर) गर्न बङ्गलादेशको ‘हाउलाडर युनुस एण्ड कम्पनी’लाई छनोट गरेको छ।
ढाकाको गुल्सन–१ मा मुख्य कार्यालय रहेको उक्त कम्पनीलाई छनोट गर्दै राष्ट्र बैंकले १५ दिनको समयावधिमा विस्तृत प्रस्ताव पेश गर्न निर्देशन दिएको छ। यसअघि राष्ट्र बैंकले पुस ६ गते उक्त प्रक्रिया सुरु गरेको थियो।
छनोट प्रक्रियामा सहभागी भएका कम्पनीमध्ये फागुन १९ गते सारभूत रूपमा योग्य ६ कम्पनीलाई सर्टलिस्ट गरिएको थियो। सर्टलिस्टमा पर्नेमा बङ्गलादेशको हाउलाडर युनुस एण्ड कम्पनी, श्रीलङ्काको डेलोइट पार्टनर्स, भारतका केपीएमजी आश्वासन तथा परामर्श सेवा एलएलपी र एमएसकेए एण्ड एसोसिएट्स, र दुई नेपाली–भारतीय जोइन्ट भेञ्चर— मेरा–जेकेएसएस–एसएसबीडीआई तथा एसआरबीए एण्ड बीके अग्रवाल एण्ड कम्पनी परेका थिए।
तर विस्तृत प्रस्ताव माग्न राष्ट्र बैंकले एकमात्र कम्पनीका रूपमा हाउलाडर युनुस एण्ड कम्पनीलाई छनोट गरेको हो। कम्पनीले आगामी जुन ८ भित्र विस्तृत प्रस्ताव पेश गरिसक्नुपर्नेछ।
यदि प्रस्ताव चित्तबुझ्दो भएमा राष्ट्र बैंकले उक्त कम्पनीलाई ऋण पोर्टफोलियोको गुणस्तर परीक्षण गर्ने जिम्मेवारी दिनेछ। परीक्षणका क्रममा सम्पूर्ण मूल्याङ्कन प्रतिवेदन तयार गरी नेपालको बैंकिङ प्रणालीमा पर्ने प्रभावबारे समेत सिफारिस गर्ने जिम्मा कम्पनीलाई हुनेछ।
यसअघि गत वर्ष मार्च २२ मा राष्ट्र बैंकले पहिलो चरणको प्रस्ताव आह्वान गरेको थियो। पाँच अन्तर्राष्ट्रिय परामर्शदाता सर्टलिस्ट भए पनि अन्तिम चरणमा भारतको केपीएमजी योग्य ठहरिए तापनि लागत अनुमानभन्दा अत्यधिक खर्चिलो भएकाले राष्ट्र बैंकले उक्त प्रक्रिया रद्द गरेको थियो।
यो मूल्याङ्कन प्रक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को दबाबमा अगाडि बढाइएको हो। आईएमएफले नेपाली बैंकहरूले देखाउँदै आएको न्यून निष्क्रिय कर्जामा शंका गर्दै स्वतन्त्र अन्तर्राष्ट्रिय अडिटको माग गर्दै आएको छ।
हाल अधिकांश बैंकले निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम देखाए पनि ‘इभरग्रिनिङ’ मार्फत कर्जा सुशोभन गरिएको आशंका गर्दै आईएमएफले समीक्षा आवश्यक देखाएको हो।
प्रतिक्रिया