निजामती सेवा विधेयकविरुद्ध कर्मचारीको विरोध, मन्त्रालयको मूलढोका अगाडि धर्ना
प्रस्तावित निजामती सेवा विधेयकमा रहेको केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। कर्मचारीहरूले वृत्ति विकास, सेवा सुविधा तथा सरुवा र बढुवाजस्ता विषयमा व्यवस्था अस्पष्ट रहेको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि विरोध प्रदर्शन गरेका हुन्।
नेपाल निजामती कर्मचारी युनियनलगायत विभिन्न कर्मचारी संगठनका प्रतिनिधिहरूले विधेयकले कर्मचारीको अधिकार कटौती गर्ने प्रयास गरेको आरोप लगाएका छन्। उनीहरूको भनाइमा प्रस्तावित विधेयकमा वृत्ति विकासको विषय स्पष्ट नरहेको, सरुवा र बढुवाका मापदण्ड अस्पष्ट रहेको तथा सेवा सुविधामा कटौती गर्न खोजिएको छ।
नेपाल निजामती कर्मचारी ट्रेड युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटुवालले पाँच वर्ष सेवा गरेका कर्मचारीलाई एक तह र दश वर्ष सेवा गरेका कर्मचारीलाई एक श्रेणी बढुवा गरिनुपर्ने माग अघि सारेका छन्। साथै, शाखा अधिकृतहरूले पाँच वर्षसम्म खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था कायम हुनुपर्ने र अन्तरप्रदेश सरुवा सहज बनाउनुपर्ने माग समेत राखिएको छ।
कटुवालले मेचीको कर्मचारी दार्चुला जानुपर्ने बाध्यता रहेको उदाहरण दिँदै, “कर्मचारीलाई आफ्नो घर जान पाउने कि नपाउने?” भनी प्रश्न गरे। उनले सरकारले करार सेवामा कार्यरत कर्मचारीहरूलाई रित्तो हात घर फर्कन नपर्ने व्यवस्था गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराएका छन्।
उनका अनुसार ट्रेड युनियन सञ्जालले अघि सारेका ११ बुँदे मागहरू सम्बोधन नभएसम्म आन्दोलन जारी रहनेछ। “आजसम्म हामी एउटै मुद्दा बोकेर हिँडिरहेका छौं,” उनले भने, “हामीले राखेका मागहरूमा वृत्ति विकास प्रमुख विषय हो – पाँच वर्षमा एक तह र दश वर्षमा एक श्रेणी बढुवा सुनिश्चित हुनुपर्छ।”
प्रतिक्रिया