जब अष्ट्रेलियन सांसदले म्याकगिनले संसदमै जुत्ताबाट बियर पिए
अष्ट्रेलियाका सांसद काइल म्याकगिनको संसदमा दिएको अन्तिम सम्बोधन अहिले चर्चाको विषय बनेको छ। कारण – उनले आफ्नो बिदाइको सम्बोधनपछि संसद भवनमै जुत्तामा बियर खन्याएर पिएको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।
भिडियोमा देखिएअनुसार, सांसद म्याकगिनले सम्बोधन सकेपछि आफ्नो स्निकर्स जुत्ता निकाल्छन्, त्यसमा बियर खन्याउँछन् र ‘चियर्स!’ भन्दै त्यही जुत्ताबाट बियर पिउँछन्। उनको यो क्रियाकलापले संसद भवनमै उपस्थित धेरै सांसदलाई अचम्ममा पार्यो भने केहीले ताली बजाएर समर्थन पनि जनाएका थिए।
यद्यपि धेरैलाई यस्तो व्यवहार अस्वाभाविक लागे पनि म्याकगिनले भने यो अष्ट्रेलियाली संस्कृतिको एक प्रसिद्ध परम्परा ‘शूई’ को भाग भएको बताएका छन्।
के हो ‘शूई’?
‘शूई’ भन्नाले कुनै विशेष अवसर वा उत्सवमा जुत्तामा रक्सी, विशेषगरी बियर खन्याएर पिउने परम्परालाई जनाइन्छ। न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार, यो परम्परा अष्ट्रेलियाली संस्कृतिमा गहिरो रूपमा जरा गाडेर बसेको छ।
यो परम्परा विभिन्न चर्चित व्यक्तित्वहरूले समेत अँगालेका छन्, जसमा फर्मुला वान चालक ड्यानियल रिकियार्डो, अभिनेता सर प्याट्रिक स्टुअर्ट, जिमी फालन, ह्यू ग्रान्ट, जेरार्ड बटलर, तथा गायक मेशिन गन केली र स्टम्र्जी सम्मिलित छन्।
सांसद म्याकगिनको प्रतिक्रिया
सिड्नी मर्निङ हेराल्डको अनुसार, सांसद म्याकगिनले संसदको अन्तिम दिनलाई अविस्मरणीय बनाउने सोचले यस्तो शैली अपनाएको बताए। उनले भने, “म गाली खाँदै आएको मान्छे हुँ, यसलाई पनि सहेरै सकाउँछु। तर म पश्चिमी अष्ट्रेलियाका सबै सदस्यहरू र मतदाताहरूलाई दुई उत्कृष्ट कार्यकालका लागि धन्यवाद दिन चाहन्छु। चियर्स!”
उनको यो शैलीले एकातिर सामाजिक सञ्जालमा चर्चा कमाएको छ भने अर्कोतिर अष्ट्रेलियाली परम्पराको अनौठो पाटो पनि संसारभर फैलिएको छ।
प्रतिक्रिया