शनिबार, ८ वैशाख २०८१

चितवनको माडीमा ‘कला कार्यशाला’ सम्पन्न

समयपोष्ट २०७५ जेठ ३ गते ६:१६

—नारायण ढुंगाना

Advertisement

विभिन्न जिल्लाका कलाकारको सहभागितामा दक्षिण चितवनको माडीमा भएको पाँचदिने कला कार्यशाला बुधबार सम्पन्न भएको छ ।

‘माडीको पर्यटन प्रवद्र्धनमा कलाकार सँगसँगै’ भन्ने नारासहित वैशाख २९ गतेदेखि शुरु भएको पाँच दिने कार्यशालामा कलाकारले २८ वटा चित्र बनाएका छन् ।

कार्यशाला सकिए पनि स्थानीय कलाकारले बुधबार थप केही चित्र बनाउन लागेको आयोजक माडी पर्यटन विकास समितिका सचिव गोविन्द न्यौपानेले जानकारी दिनुभयो ।

देशका विभिन्न जिल्लाबाट आएका १४ जना कलाकारको सहभागितामा कला कार्यशाला भएको थियो । कलाकारले माडीको बस्ती, पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, वन र वन्यजन्तु, चरा, आदिवासी समुदायको रहनसहनका २८ चित्र क्यान्भासमा उतारेका छन् ।

कार्यशालामा चित्र कोर्ने चितवनका डि बराल, योगेश खनाल, वरुणबाबु घिमिरे, लालकाजी लामा, प्रकाश थापा, तमबहादुर पुन, राजेश बराल, दिनेश्वर महतो, भीम श्रेष्ठ र संखुवासभाका डिवी राई, भक्तपुरका दीपेन्द्रमान बनेपाली, पोखराका एनवी गुरुङ, पाल्पाका डिराम पाल्पाली र भैरहवाका केशवराज खनाल सहभागी थिए ।

उनीहरुले तयार पारेका सबै चित्र माडी नगरपालिकालाई हस्तान्तरणसमेत गरेको माडी पर्यटन विकास समितिका अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो ।
नगरप्रमुख ठाकुर ढकालले कलाका माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुगेको भन्दै आगामी दिनमा विभिन्न क्षेत्रमा प्रदर्शनी गरेर माडीको अवस्थाबारे जानकारी दिई पर्यटक भित्र्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

वैशाख महिनाको तीनदिन माडीका विभिन्न क्षेत्रको स्थलगत अवलोकनपछि क्यामेरामा कैद भएका चित्र कलाकारले क्यान्भासमा उतारेका थिए । चितवन राष्ट्रिय निकुञ्जले घेरिएको दक्षिण चितवनको माडी नगरपालिका कृषि र पर्यटनका हिसाबले महत्वपूर्ण क्षेत्र हो ।

यहाँका धार्मिक पर्यटन क्षेत्र पाँचपाण्डव, परशुराम कुण्ड, सोमेसोर पहाड चर्चित छन् । भारतीय सीमासँग जोडिएको माडी विशेषगरी वन्यजन्तु र बाढीबाट प्रभावित हुँदै आएको छ ।

कलाकार लालकाजी लामाले पर्यटन प्रवद्र्धनका लागि आफूहरुले माडीमा योगदान गरेको प्रतिक्रिया दिनुभयो । करीब रु दुई लाख ५० हजारमा कार्यक्रम सम्पन्न गरेको आयोजकले जनाएका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री