मंगलबार, २८ असोज २०८२

घरजग्गा कारोबारमा नयाँ व्यवस्था : तीन करोडसम्मको कारोबारका लागि कम्पनी दर्ता अनिवार्य नहुने

समयपोष्ट २०८२ असोज २८ गते १९:१२


सरकारले मालपोत ऐन कार्यान्वयनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै घरजग्गा कारोबारमा नयाँ सीमा तोकेको छ।

Advertisement

अब एक पटकमा ३ करोड रुपैयाँसम्मको घरजग्गा कारोबारका लागि कम्पनी दर्ता वा इजाजतपत्र लिनु नपर्ने व्यवस्था गरिएको छ। यसले साना तथा मध्यम स्तरका कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ।

मालपोत ऐनको दफा २६ ‘क’ र २६ ‘ख’ को व्यवस्था थप स्पष्ट पार्दै यो निर्णय गरिएको हो। ऐन अनुसार, नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा निर्धारित क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनुपर्नेछ। यस सन्दर्भमा ३ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न कम्पनी दर्ता अनिवार्य गरिएको छ भने त्यसभन्दा कम रकमको कारोबारका लागि व्यक्तिगत रूपमा नै गर्न सकिने भएको छ।
यसैगरी, कारोबारको क्षेत्रफलको हकमा जतिसुकै जग्गा वा घरको खरिद–बिक्री गर्न सकिने व्यवस्था छ, तर रकमको सीमाले मुख्य भूमिका खेल्नेछ। घरजग्गा कारोबार भन्नाले प्राकृतिक व्यक्तिबीचको आपसी सहमतिमा हुने खरिद–बिक्री बाहेक कुनै शुल्क लिएर वा नलिई अरूको घरजग्गा खरिद–बिक्रीमा सहयोग गर्ने, परामर्श दिने वा व्यावसायिक सेवा प्रदान गर्ने कार्यलाई बुझिन्छ।

सरकारले तोकिएको अधिकारीका रूपमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशकलाई नियुक्त गरेको छ। इजाजतपत्र लिन चाहने व्यक्तिले तोकिए बमोजिमका विवरण, कागजात र दस्तुरसहित महानिर्देशक समक्ष निवेदन दिनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री