शुक्रबार, १४ वैशाख २०८१

सामुदायीक महिला भवनबाट विद्यालय सञ्चालन

समयपोष्ट २०७५ जेठ २ गते ६:०८

आकाशमुनि पठनपाठन भइरहेको पाल्पा रामपुर नगरपालिका–२ को कालिका प्राथमिक विद्यालयले सामुदायिक महिला भवनमा विद्यार्थी राखेर पठनपाठन शुरु गरेको छ ।

Advertisement

गत वैशाख १९ गते राससमा ‘विद्यालय सारेर खुला आकाशमुनि पढाई’ भन्ने समाचार प्रकाशन भएपछि त्यसको प्रभावका कारण विद्यालयले अहिले सामुदायिक महिला भवनमा विद्यार्थी राखेर पढाउन थालेको हो ।

समाचारको प्रभावकै कारण खुला आकाशमुनि विद्यार्थी राखेर नपढाउन सरोकारवाला निकायले दिएको सुझावलाई मनन गर्दै विद्यालयले अहिले स्थानीय सामुदायिक महिला भवनमा विद्यार्थी राखेर कक्षा सञ्चालन गरिरहेको छ ।

दुईवटा कोठामा कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीलाई समूह समूह बनाएर दुःख सुखसँग पढाउन थालिएको विद्यालयका प्रधानाध्यापक बाबुराम घिमिरेले बताउनुभयो ।

“विद्यालयको टहरा निर्माण कार्य भइरहेको छ, टहरा सम्पन्न नहुँदासम्म विद्यालय नजिकै रहेको स्थानीय सामुदायिक महिला भवनका दुईवटा कोठामा सबै कक्षा सञ्चालन गरेका छौँ”– “टहरा निर्माण सम्पन्न नहँुदासम्म घामपानीबाट ओत लाग्नका लागि मिलाएर पढाइएको छ” उहाँले भन्नुभयो ।

अहिले ४५ जना विद्यार्थी विद्यालयमा भर्ना भएका छन् । गत वर्षको विद्यार्थी भर्नादरको तुलनामा यस वर्ष ठूलो संख्यामा विद्यार्थी थपिएका छन् । गत वर्ष आठजना विद्यार्थी मात्र रहेका थिए ।

कम विद्यार्थी रहेका कारण पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय सारेपछि भर्नादर बढ्दो छ । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिको निर्णयमा बाक्लो बस्ती भएको ठाउँमा विद्यालय सारेपछि विद्यार्थी संख्या ह्वात्तै बढेको छ ।

विद्यालयले नगर शिक्षा समिति, रामपुरसँग अनुमति नलिइकन पुरानो ठाउँबाट नयाँ ठाउँमा विद्यालय स्थानान्तरण गरेका कारण भवन अभावको समस्या खट्किएको हो ।

खुला आकाशमुनि राखेर पढाएको अनुगमनका क्रममा देखेपछि तुरुन्त भवनभित्र विद्यार्थी राखेर पढाउन निर्देशन दिइएको रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो । टहरा निर्माणको क्रममा रहेकाले अब छिट्टै नै निर्माण कार्य सम्पन्न गरी टहराभित्र पठनपाठन गराउने विद्यालयले जनाएको छ ।

हावाहुरीले सोलार प्यानल उडायो

यसैबीच, हावाहुरीका कारण यहाँको एक विद्यालयमा जडान गरिएको सोलारको प्यानल उडाउँदा रु चार लाख बराबरको क्षति पुगेको छ ।

निस्दी गाउँपालिका–४, मित्याल पाल्पामा रहेको जीवन ज्योति आधारभूत विद्यालयको सोलार प्यानल उडाउँदा पूर्णरुपमा क्षति पुगेको छ ।

दुई वर्ष अगाडि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपालको अनुदानमा जडान गरेको १६८० वाट क्षमताको सोलार जडान गरेर विद्यालयमा कम्प्यूटर शिक्षा सञ्चालन गरिएको प्रधानाध्यापक चित्र आलेले बताउनुभयो ।

हावाले सोलारको प्यानल उडाएपछि अहिले कम्प्यूटर कक्षा सञ्चालन गर्न र प्रशासनिक काम गर्नसमेत समस्या भएको आलेले बताउनुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री