शुक्रबार, ७ वैशाख २०८१

क्रसर उद्योगले बस्ती जोखिममा

समयपोष्ट २०७५ वैशाख ३१ गते १०:०३

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवी र कलाँती भूमिडाँडाको गागल आसपासमा सञ्चालन हुँदै आएका ढुंगाखानी र क्रसर उद्योगका कारण यहाँका बस्ती विस्थापित हुने खतरा बढ्दै गएको छ ।

Advertisement

सञ्चालकले ढुंगाखानी र क्रसर उद्योग व्यवस्थित रुपमा सञ्चालन नगर्दा वनजंगललाई समेत असर पुगेको छ । केही परिवार विस्थापित भएका छन् । स्थानीयवासी अर्जुन आचार्य खानीका कारण विभिन्न समस्या झेल्दैआएको बताउनुहुन्छ ।

“आवाज र धुलोले असर गरिरहेको छ, धुलोले बोटबिरुवा ढाक्नाका साथै उब्जनीमा कमी आएको छ,” उहाँले भन्नुभयो, “कोलाहलले राती सुत्न सकिँदैन ।” दूध र तरकारी ढुवानी गर्न समस्या भएको छ ।

पहिरोका कारण पनौती बजारसँगै खोला आसपासको अन्य क्षेत्रमा समेत क्षति पुग्ने देखिन्छ । बस्ति तलतिरबाट ढुंगा निकाल्दा पहिरो जान थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बजगार्इंका अनुसार यसै वर्ष दुई परिवार विस्थापित भएका छन् ।

स्थानीय बासिन्दा साधुराम आचार्य खानीका कारण विभिन्न समस्या देखापरेको बताउनुहुन्छ । “गाउँमा बस्न सक्ने स्थिति छैन, चर्को आवाजले ओल्लो घरबाट बोलाएको अर्को घरमा सुनिदैन”, उहाँले भन्नुभयो, “कि त खानी बन्द गर्नुप¥यो कि बस्ती नै हटाउनु प¥यो ।”

खानीका कारण पहिरो जाने, धुलोका कारण वातावरण प्रदूषित हुँदै जानाका साथै पर्यटकीय क्षेत्रमा प्रदूषण बढ्दै जाँदा पर्यटकको आगमनमा कमी आएको छ । “खानी बन्द गर्नुपर्छ”, तामाङले भन्नुभयो ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने जनप्रतिनिधि आउनु अगाडि नै खानी विभागबाट दर्ता भई आएर सञ्चालन गरेका कारण त्यसका लागि केन्द्रले नै पहल गर्नुपर्ने बताउनुहुन्छ । “खानीका कारण खानेपानी आयोजनामा समेत असर गरेको छ, डाँडाडाँडा नै किसानले बेचेर जानुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “हामी आएदेखि खानी दर्ता गर्न दिएका छैनौँ ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री