शुक्रबार, ३१ असोज २०८२

जेनजीहरूसंगको छलफलमा राष्ट्रपति पौडेलले भने – चुनावलाई सामान्य रूपमा नलिनु

समयपोष्ट २०८२ असोज ३० गते २०:४९

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल भएको छ । राष्ट्रपति पौडेलले बिहीबार शीतल निवासमा अन्तरिम सरकारसहित जेनजी अभियन्ताहरूसँग गरेका हुन् ।

छलफलमा राष्ट्रपति पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई सफल पार्दै इतिहास रच्न जेनजी अभियन्ताहरूलाई आग्रह गरेका छन् ।

प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावाद र पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको राष्ट्रपतिले बताए ।

उनले यो चुनावलाई सामान्य रूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियान र प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई आग्रह गरे ।

Advertisement

राष्ट्रपति पौडेलले युवाहरू अघि सरेर ’राम्रो प्रतिनिधिसभा बनाउन, भ्रष्ट र बदमास जित्न नपाऊन्, असल र इमानदारहरू जितेर आऊन्’ भन्दै त्यसपछि देश न्याय र सुशासनको बाटोमा जानुपर्ने र युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले जेनजीहरूको आन्दोलनको सम्मान गर्न सरकारलाई समेत सहभागी गराएर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीका बाँकी मागमा सरकारले ध्यान दिने स्पष्ट पारे ।

भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा यो अन्तरिम सरकार गठन भएको भन्दै यसलाई आन्दोलनको सफलताको रूपमा लिएर चुनावमा होमिन आग्रह गरे । राष्ट्रपतिले जायज मागलाई देखाएर आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री