शिखर इन्स्योरेन्सलाई अन्तर्राष्ट्रिय सूचना सुरक्षा प्रमाणपत्र
सूचना प्रविधिको युगमा साइबर सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षा व्यवस्थापन प्रणाली (ISMS) अन्तर्गतको ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले यस उपलब्धिलाई गौरवको साथ घोषणा गर्दै ग्राहक सूचनाको गोपनीयता, सूचना सुरक्षाको प्रत्याभुति, र जोखिम व्यवस्थापन प्रणालीको सुदृढ अभ्यासमा आफ्नो प्रतिबद्धता झल्काउने बताएको छ ।
ISO/IEC 27001:2022 प्रमाणपत्रले शिखर इन्स्योरेन्सको सूचना सुरक्षा नीतिहरू, प्रणाली र कार्यपद्धतिहरूले विश्वस्तरीय मापदण्डहरू पुरा गरेको पुष्टि गरेको छ । कम्पनीले आफ्नो सूचना प्रणालीको व्यवस्थापन, कार्यान्वयन, मूल्याङ्कन र निरन्तर सुधार प्रक्रियामा उच्च सावधानी अपनाएको जनाउँदै आएको छ ।
कम्पनीका अनुसार, यो प्रमाणपत्र प्राप्त गर्नु भनेको ग्राहकले प्रदान गर्ने हरेक संवेदनशील सूचनाको गोपनीयता र सुरक्षा सुनिश्चित गर्न कम्पनीले अवलम्बन गरेका उपायहरू सशक्त रहेको प्रमाणित हुनु हो । शिखर इन्स्योरेन्सले साइबर सुरक्षा, डेटा गोपनीयता तथा सूचना जोखिम व्यवस्थापनमा विगतदेखि नै विशेष ध्यान दिँदै आएको छ ।
सूचना प्रविधिको द्रुत विकास भइरहेका बेला बीमा कम्पनीहरूको लागि डेटा सुरक्षा तथा सेवा निरन्तरताको सुनिश्चितता अत्यावश्यक बन्दै गएको सन्दर्भमा शिखर इन्स्योरेन्सको यो सफलतालाई बीमा उद्योगमै उदाहरणीय मानिएको छ ।
शिखर इन्स्योरेन्सले ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउन सूचना सुरक्षा व्यवस्थापन प्रणालीको बलियो संरचना निर्माण गर्दै आएको उल्लेख गर्दै, प्राप्त प्रमाणपत्रले कम्पनीको सेवा गुणस्तर, ग्राहकसँगको सम्बन्ध तथा प्रतिस्पर्धात्मकता समेत बढाउने विश्वास व्यक्त गरेको छ ।
यसै सन्दर्भमा कम्पनीले भविष्यमा अझ उच्चस्तरीय प्रविधि र सुरक्षाका उपायहरू अपनाएर सूचना सुरक्षालाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाएको छ ।
प्रतिक्रिया