शुक्रबार, ७ वैशाख २०८१

चीनसँगका सम्झौता र समझदारी अलपत्र

समयपोष्ट २०७५ वैशाख ३ गते १:२९

उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले मूर्त रूप पाउन सकेको छैन । विगतमा भएका थुप्रै सम्झौता र समझदारी अलपत्र छन् । यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सोमबार चीन भ्रमणमा निस्कँदै छन् ।

Advertisement

प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालको चीन भ्रमणका क्रममा बेइजिङमा भएको पारवहन सम्झौताको ‘प्रोटोकल’ ले पनि अन्तिम रूप पाउन सकेको छैन । सम्झौतासँगै चीनले अघि बढाएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा चिनियाँ पक्षले चासो देखाए पनि यसले पनि अझै अन्तिम रूप पाएको छैन ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ, चीनसँग भएका रेलमार्ग, आर्थिक सहकार्यलगायत सहमति र सम्झौता कार्यान्वयन तहमै पुग्न नसकेको अवस्थामा परराष्ट्रमन्त्रीको भ्रमणले अर्थपूर्ण छलफल गर्ने अपेक्षा परराष्ट्र अधिकारीले गरेका छन्

अधिकारीहरूका अनुसार उत्पादन क्षमता वृद्धि र चिनियाँ लगानी भित्र्याउने विषयको प्रोटोकल भने अन्तिम चरणमा पुगेको छ । स्वतन्त्र व्यापार क्षेत्रमा चिनियाँ पक्षले आफ्नातर्फबाट काम सकेर नेपालसमक्ष धारणा राखिसकेको छ । त्यसमा नेपालले अध्ययन गरिरहेको बताइए पनि टुंगो लाग्न सकेको छैन ।

चीनसँग पारवहन सम्झौता भएको एक वर्षपछि नेपालले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा हस्ताक्षर गर्‍यो तर त्यसमार्फत लगानी भित्र्याउन खासै पहल गरेको छैन । २०७४ असार पहिलो साता नेपाल–चीन परराष्ट्र सचिवस्तरीय परामर्श समितिको ११ औं बैठकमा पनि यसअघि भएका सम्झौता र प्रधानमन्त्री स्तरका भ्रमणमा भएका सहमतिबारे छलफल भए तर कार्यान्वयनमा कुनै प्रगति हुन सकेन । दुईपक्षीय तथा बहुपक्षीय विषयमा पुनरावलोकन गर्न बनेको उक्त संयन्त्रको बैठक ४ वर्षपछि बसेको थियो । माघमा अर्को बैठक बेइजिङमा बस्ने भनिए पनि बसेन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री