टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक पौडेलद्धारा पदभार ग्रहण

नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले आज कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण भएको छ ।

Advertisement

उहाँलाई नेपाल सरकार मन्त्रिपरिषदको २०७८ चैत्र २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गर्नुभयो ।

सो अवसरमा उहाँले कार्यालय प्रयोजनका सबै काम कारवाहीलाई सूचना प्रविधिसँग जोडेर स्वचालित रुपमा तत्काल कार्यान्वयनमा लैजाने संरचनामा ढाली कम्पनीका सबै सेवाहरुलाई आम जनताको सहज र सुलभ पहुँचमा पुर्याउँनका लागि हामी सबै प्रतिबद्ध हुनुपर्ने बताउनु भयो । उहाँले कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न र कम्पनीलाई अझ मुलुककै विश्वसनीय धरोहरका रुपमा स्थापित गर्न आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पदभार ग्रहण गर्दै उहाँले नेपाल सरकारको सुचना प्रविधिमार्फत राष्ट्रलाई सम्वृद्ध बनाउने र मुलुकभरका आम जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाको सहज पहुँचमा पुर्याउँने अन्तर्निहित उद्देश्यसँगै राष्ट्र र जनताप्रतिको अहं दायित्वबोधका साथ कम्पनीलाई नम्बर १ संस्थाका रुपमा कायम राख्न लागिपर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Advertisement

पदबहाली कार्यक्रममा नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक, अन्य बरिष्ठ अधिकृत, कम्पनीमा क्रियाशील कर्मचारी युनियनका पदाधिकारी एवं कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो ।

प्रबन्ध निर्देशक पौडेल यसअघि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँले सो केन्द्रमा सन् २००४ देखि कार्यरत रही कम्प्युटर इञ्जिनियर, सहायक निर्देशक तथा उपनिर्देशकको जिम्मेवारी वहन गरिसक्नु भएको छ ।

उहाँले सन् २००८ मा दक्षिण कोरियाको कोरिया एड्भान्स इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (काइस्ट) बाट सूचना प्रविधिमा स्नातकोत्तरको उपाधि हासिल गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री