
नेपाल र भारतका सीमावर्ती जिल्लाका उच्च अधिकारीहरूबीच सीमा व्यवस्थापन र सुरक्षा समन्वयका लागि महत्वपूर्ण छलफल भएको छ ।
कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूको बैठक सम्पन्न भएको हो ।
बैठकमा नेपालकातर्फबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी र भारततर्फबाट सम्बन्धित जिल्लाधीश, भारतीय प्रहरी र सीमा सुरक्षा बलका अधिकारीहरू सहभागी थिए ।
बैठकको सहअध्यक्षता गरेका कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सीमा व्यवस्थापनका लागि भइरहेका कामकारबाहीबारे जानकारी दिए । उनले सीमा स्तम्भको अवस्था, मर्मत-सम्भार तथा पुनःनिर्माणलगायत विषयमा गहन छलफल भएको बताए ।
पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा दुवै पक्षबीच महत्वपूर्ण समझदारी बनेको छ । हराएका सीमा स्तम्भको खोजी गरी पुनःनिर्माण गर्ने र आवश्यक मर्मतकार्यलाई तत्काल अघि बढाइने रेग्मीले जानकारी दिए ।
बैठकमा हराएका सीमा स्तम्भको पुनःनिर्माण सम्बन्धी प्राविधिक टोलीले हालसम्म गरेको कामको प्रगतिबारे पनि समीक्षा गरिएको थियो । दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा देखा पर्ने साझा चुनौतीलाई आपसी समन्वयमार्फत हल गर्ने प्रतिबद्धता जनाए ।










प्रतिक्रिया