
स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ ।
मंगलबार प्रहरी प्रधान कार्यालयले दरखास्त आह्वान गरेको हो । चैत ६ बाट चैत ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन् ।
म्यादी प्रहरीको फारम देशभरका जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका ३ वटा प्रहरी परिसरमा पाइन्छ । साधारण लेखपढ गर्न जानेकाहरूले म्यादी प्रहरीमा आवेदन दिन पाउनेछन् ।
सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परिक्षणमा उत्तिर्ण भएकालाई प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । पूर्व सुरक्षाकर्मी र पूर्व वन रक्षकले पनि म्यादी भर्नामा प्राथामिकता पाउनेछन् ।
यसअघिको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएकाहरुलाई पनि प्राथमिकता दिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । २०७८ चैत १५ बाट म्यादी प्रहरीको छनौट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
निर्वाचनमा खटिने म्यादी प्रहरीकको कार्यअवधि बढीमा ४० दिनसम्मको हुनेछ। उनीहरुका लागि स्थायी प्रहरी जवान सरहको पारिश्रमिक र अन्य सुविधा दिइने जनाइएको छ। जसअनुसार मासिक आधारभूत तलब २२ हजार ६८० रुपैयाँ म्यादीले पाउनेछन्।
समग्रमा ४० दिनसम्मका लागि व्यक्तिगत बैंक खातामा ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत ७ हजार २ सय रुपैयाँ र पोशाक तथा अन्य समान खरिदका लागि ६ हजार रुपैयाकाँ दरले उपलब्ध गराउने पनि सूचनामा उल्लेख छ। साथै, म्यादी प्रहरीहरुलाई खटिएको ठाउँसम्म आउन र जाने तयारीस्वरुप थप एक हजार रुपैयाँ तयारी खर्च उपलब्ध गराउने पनि जनाइएको छ। यो सबै मिलाएर बढीमा ४० दिनको अस्थायी रोजगारी अवधिमा म्यादी प्रहरीले कुल ४४ हजार ४४० रुपैयाँ नगद प्राप्त गर्नेछन्।









प्रतिक्रिया