मंगलबार, ११ वैशाख २०८१

देउवालाई निर्विकल्प नेता बन्न नदिन सिंहको उम्मेदवारी

समयपोष्ट २०७४ फागुन १९ गते १:०६

कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । यद्यपि, सर्वसम्मत रूपमा दलको नेता चयन गर्न नेताहरूबीच भेटघाट र छलफल जारी छ ।

Advertisement

यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ, कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले गत बुधबार टोखास्थित आफ्नो निवासमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदका लागि आयोजना गरेको दिवाभोजमा सभापति देउवा र नेता सिंहले दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थिए । नेता रामचन्द्र पौडेल पक्षले देउवालाई निर्विकल्प दलको नेता बन्न नदिन सिंहलाई अगाडि सार्ने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् । संस्थापन पक्षका बहुमत सांसद भएकाले निर्वाचन भएमा देउवा निर्वाचित हुने लगभग पक्का छ । ‘अहिलेसम्म पार्टीका सबै नेता सर्वसम्मत रूपमै दलको नेता चयन गर्न छलफलमा जुटिरहनुभएको छ, तर कुनै निष्कर्ष निस्केको छैन, निर्वाचनबाटै दलको नेता चयन गर्ने परिस्थिति सिर्जना हुँदै गएको छ,’ कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले भने ।

देउवा समूहमा प्रधान र चौधरी
कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षबाट प्रत्यक्षमा तीनजना निर्वाचित भएका थिए । जसमा गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान छन् । दलको नेता निर्वाचनमा भने सिटौला पक्षमा विभाजन आएको छ । स्रोतका अनुसार सांसद थापा कतै खुलेका छैनन् भने चौधरी र प्रधानले देउवालाई सहयोग गर्ने भएका छन् ।

संस्थापन प्रत्यक्ष : ११ सांसद
देउवा डडेल्धुरा, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, सीताराम मेहता सुनसरी २, विजयकुमार गच्छदार सुनसरी ३, प्रदीप गिरी सिरहा १, मोहन आचार्य रसुवा, अमरेशकुमार सिंह सर्लाही ४, भरत शाह रुपन्देही ५, देवेन्द्रराज कँडेल नवलपरासी २, प्रमोदकुमार यादव रुपन्देही ४ र अभिषेकप्रताप शाह कपिलवस्तु ३ विजयी भएका छन् ।

पौडेल पक्ष प्रत्यक्ष : नौजना
प्रकाशमान सिंह काठमाडौं १, डा. शशांक कोइराला नवलपुर १, डा. मीनेन्द्र रिजाल मोरङ २, डा. नारायण खड्का उदयपुर १, राजन केसी काठमाडौं १०, अफताव आलम रौतहट २, देवीप्रसाद तिमल्सिना रौतहट ४, तेजुलाल चौधरी सप्तरी ४, सञ्जय गौतम बर्दिया १ छन् ।

समानुपातिक देउवा पक्ष : २८
बालकृष्ण खाण, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, बहादुरसिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, स्मृतिनारायण चौधरी, नागेन्द्रकुमार राय, पद्मनारायण चौधरी, अतहर कमाल मुसलमान, रामबहादुर विष्ट, पुष्पा भुसाल गौतम, डिला संग्रौला, उमा रेग्मी, रंगमति शाही, ज्ञानकुमारी छन्त्याल, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुजाता परियार, लक्ष्मी परियार, चित्रलेखा यादव, मिनाक्षी झा, पार्वती डिसी चौधरी, सर्वत आरा खान

पौडेल पक्ष १२
सुजाता कोइराला, मीना पाण्डे, प्रमिला राई, विमला नेपाली, सीतादेवी यादव, दीलेन्द्रप्रसाद बडू, कर्मा घले, विनोद चौधरी, लालकाजी गुरुङ, दिव्यमणि राजभण्डारी, प्रकाश स्नेही रसाइली, नमिताकुमारी चौधरी

निर्वाचन कार्यक्रम सार्वजनिक
कांग्रेस संसदीय दलको निर्वाचन २१ फागुनमा हुने भएको छ । संसदीय दल निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यक्रम प्रकाशन गरेको हो । निर्वाचन तालिकाअनुसार २० फागुन साढे ४ बजे मतदाता नामावली प्रकाशन, ६ देखि साँझ साढे ७ बजेसम्म उम्मेदवारका लागि दरखास्त आह्वान र उम्मेदवारको अन्तिम नामावली २१ फागुन बिहान साढे ८ बजे हुनेछ ।

२१ फागुन बिहान १० देखि दिउँसो १ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना सुरु हुने समिति सदस्यसचिव प्रेम केसीले जानकारी दिए । विधानअनुसार कांग्रेस संसदीय दल कार्यसमिति २६ सदस्यीय हुनेछ । दलको नेता कार्यसमितिको निर्वाचन हुने केसीले बताए । संसदीय दलको नेता चयन प्रक्रियाको आवश्यक गृहकार्य गर्न चिनकाजी श्रेष्ठको संयोजकत्वमा भीष्मराज आङ्दम्बे र नवीन्द्रराज जोशी सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

उम्मेदवारी दर्ता शुल्क ४१ हजार
कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता शुल्क ४१ हजार रुपैयाँ तोकेको छ । निर्वाचनको दिन सचिवालय खर्च जुटाउन उक्त परिमाणको शुल्क तोकिएको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । ‘निर्वाचनको दिन आवश्यक पर्ने स्टेसनरी खर्च, कर्मचारीका लागि खाजा खर्च जुटाउन त्यति शुल्क तोकिएको हो,’ उनले भने । निर्वाचनपछि कांग्रेसले सांसदबाट लेबी लिएको छैन । दलको नेता चयनपछि मात्र कांग्रेसले पार्टीलाई लेबी बुझाउन संघीय संसद् सचिवालयमा पत्र लेख्ने केसीको भनाइ छ । विगतमा कांग्रेसले प्रत्येक सांसदबाट पाँच हजार रुपैयाँ लेबी लिने गरेको थियो । कांग्रेसमा प्रतिनिधिसभामा ६३ र राष्ट्रिय सभामा १३ गरी ७६ जना सांसद छन् ।

सांसदको शपथपछि मात्र संसदीय दलको निर्वाचन
कांग्रेसले संघीय सांसदको शपथपछि मात्रै दलको नेता चयन गर्न लागेको हो । सत्तारुढ एमाले र माओवादी केन्द्रले सांसदले शपथ नै नलिईकनै दलको नेता छनोट गरेका थिए । कांग्रेसले भने सांसद पदको शपथपछि मात्र दलको नेता चयन गर्न वैधानिक हुने जिकिर गरेको छ । कांग्रेसले बहुदलीय संसदीय शासन प्रणालीमा सांसदको शपथग्रहण नगरी कुनै पनि सदस्य संसदीय दलको नेता वा कार्यसमिति सदस्य हुन नसक्ने भन्दै सांसदको शपथपछि मात्र दलको नेताको निर्वाचन गर्न लागेको सचिव केसीले बताए ।

यस्तो छ निर्वाचन तालिका
मतदाता नामावली प्रकाशन : २० फागुन
मतदाता नामावलीउपर दाबी विरोध : २० फागुन अपरान्ह ४ः३५ देखि ५ बजेसम्म
अन्तिम नामावली प्रकाशन : २० फागुन अपराह्न ५ः३० बजे
उम्मेदवार मनोनयन दर्ता : २० फागुन अपराह्न ६ देखि ७ः३० बजेसम्म
उम्मेदवारको दरखास्तउपर दाबी विरोध : २० फागुन ७ः४५ देखि ८ बजेसम्म
उम्मेदवारले नाम फिर्ता लिने : २० फागुन ८ः१५ देखि २१ फागुन बिहान ८ः१५ बजेसम्म
उम्मेदवारको अन्तिम नामावली प्रकाशन : फागुन २१ गते ८ः३० बजे
मतदान : २१ फागुन १० देखि १ बजेसम्म

प्रतिनिधिसभाको नेताले राष्ट्रिय सभाको नेता तोक्ने
राष्ट्रिय सभामा भने दलको नेता प्रतिनिधिसभाको संसदीय दलको नेताले नै तोक्ने कांग्रेस संसदीय दलको विधानमा छ । त्यस्तै, राष्ट्रिय सभाको प्रमुख सचेतक प्रतिनिधिसभाको प्रमुख सचेतकको सिफारिसमा संसदीय दलको नेताले नै चयन गर्ने व्यवस्था छ ।

पौडेल पक्ष छलफलमा व्यस्त
पौडेल पक्षले सांसद भेटघाटलाई तीव्रता दिएको छ । अहिलेसम्म कतै नखुलेका सांसद विनोद चौधरीले सिंहलाई मत हाल्ने पौडेल पक्षका एक नेताको दाबी छ । पौडेल पक्षले आफ्नो पक्षको २४ मत आउने दाबी गरेको छ । खुमबहादुर खड्का पक्षले पनि अन्तिममा सिंहलाई सहयोग गर्ने पौडेल पक्षको आकलन छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री