बिहीबार, १५ चैत २०८०

अमेरिकी शेयर बजारमा भुइँचालो, डाउजोन्स ९०० अंकले घट्यो

एपी २०७६ चैत ८ गते ११:३४

Advertisement

अमेरिकी शेयर बजार वाल स्ट्रीट सातामा जसरी शुरुवात भएको थियो अन्त्य पनि त्यस्तै भयो, अर्थात् शेयर बजारमा कोरोनाभाइरसको असर पूरै देखियो । शेयर बजारमा द्रुत गतिमा गिरावट आउनुका साथै तेलको मूल्यमा भारी कमी भयो ।

कोरोनाको महामारी फैलिन नदिने उपायस्वरुप अमेरिकी संघीय र राज्य सरकारहरुले देशको अर्थतन्त्रभन्दा मानिसको स्वास्थ्यलाई प्राथमिकता दिएपछि शेयर बजारमा मन्दी छाउनु स्वाभाविक थियो ।

एसियाली शेयर बजारमा केही सुधार देखिए पनि अमेरिकाकै प्रतिष्ठित शेयर सूचक डाउजोन्स औद्योगिक समूह एकै दिन ९०० अङ्कले घट्यो । सातामा डाउजोन्स १७.३ प्रतिशत घटेको छ । पछिल्ला पाँच हप्तामध्ये चार हप्तामा शेयर सूचकांकमा लगातार गिरावट आएको छ ।

ट्रम्प प्रशासनले गरेको आर्थिक सहयोग सम्बन्धी घोषणाबाट एक दिन थामिएको शेयर बजारमा अरु दिन भुइँचालो नै गएको थियो । सन् २००८ को वित्तीय सङ्कटका कारण शेयर बजारमा देखिएको मन्दीपछि यो नै सर्वाधिक खराब हप्ता रह्यो ।

लगानीकर्ताहरु कोरोनाभाइरसले अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरुलाई गहिरो मन्दीमा धकेल्ने त होइन भनेर चिन्तित भएका छन् । प्रकोप फैलिन नदिन सरकारहरुले अबलम्बन गरेका नीतिहरुले अर्थव्यवस्थामा कठिनाई आउनुका साथै कर्मचारी कटौतीको सम्भावना बढाएका छन् ।

केन्द्रीय बैंकहरू र सरकारहरूले आर्थिक क्षतिलाई कम गर्न आपतकालीन कार्यक्रमहरू घोषणा गरिरहेका छन् तर यो अपर्याप्त कदम रहेको भन्दै आलोचना हुन थालेको छ । मानिसहरु विश्व अर्थतन्त्रको पहिलो नम्बरमा रहेको अमेरिकामा नोक्सान सहनु परेका घरपरिवार र उद्योगहरुलाई ट्रम्प प्रशासनले अर्बौं डलरको राहत उपलब्ध गराउने अपेक्षा गरिरहेका छन् ।

“कोरोनाभाइरसले अर्थव्यवस्थालाई शिथिल बनाउँदैछ,” एल्ली इन्भेस्टकी प्रमुख लगानी रणनीतिकार लिन्ड्से बेलले बताउनुभयो । यहीबीच, तेलको माग घटेपनि उत्पादन बढाइएका कारण तेलको मूल्यमा कमी आएको छ । “यो अर्थतन्त्रको लागि दोहोरो धक्का हो ।”

न्यूयोर्कका गभर्नर एन्ड्र्यू कुमोले अधिकांश कामदारहरूलाई घरमै बस्न आदेश दिएपछि शुक्रबार शेयरको बिक्री एकाएक बढेको थियो । क्यालिफोर्नियाले यस्तै उपाय घोषणा गरेको एक दिन पछि न्यूयोर्कले यो घोषणा गरेको थियो । न्यूयोर्क र क्यालिफोर्नियामा अब रेष्टुरेन्टहरू, खुद्रा बिक्रेताहरू र अन्य व्यवसायहरु बन्द गरिएका छन् ।

यी उपायहरूले पनि खनिज तेलको माग घटाउने छ । अमेरिकी कच्चा तेलको मूल्यमा करिब २१ प्रतिशत गिरावट आएको छ र यो सन् २००२ को फेब्रुअरीपछि पहिलो पटक प्रति ब्यारेल २० डलर भन्दा तल पुगेको छ ।

लगानीकर्ताहरू बजारको वर्तमान अस्थिरतालाई रोक्न कोरोनाभाइरसको नयाँ संक्रमण रोकिनुको विकल्प नरहेको बताउँछन् ।

वेल्स फार्गो इन्भेस्टमेन्ट इन्स्टिच्युटका ग्लोबल मार्केट रणनीतिकार, पल क्रिस्टोफरले भन्नुभयो “हामीलाई थाहा छैन, अर्को दुई हप्तामा के हुने हो । अन्य देशहरूमा जस्तै संक्रमणको चक्रमा अमेरिका फस्यो भने त्यसबेला आँधी आउनेछ ।”

विश्वभर कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ११ हजार ४०० भन्दा बढी पुगिसकेको छ । विश्वव्यापी रूपमा २ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यीमध्ये करिब ९२ हजार मानिस निको भएका छन् ।

अधिकांश व्यक्तिहरूमा कोरोनाभाइरसको हल्का वा मध्यम लक्षणहरू निम्त्याएको पाइन्छ, जस्तै ज्वरो र खोकी लाग्नु । तर हल्का बिरामी भएकाहरू करिब दुई हप्तामा निको भएको पाइएको छ । विशेषगरी वृद्धहरू र पहिल्यैदेखि स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा निमोनिया लगायतका गम्भीर अवस्था देखिन सक्छ र यस्तो परिस्थितिमा स्वास्थ्यलाभका लागि कम्तीमा छ हप्ता लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री