डेडिकेटेड र ट्रंकलाइनको बिजुली नकाट्न प्राधिकरणलाई निर्देशन
विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई विवादित डेडिकेटेड तथा ट्रंकलाइनको बिजुली आपूर्ति नकाट्न निर्देशन दिएको छ। आयोगले शुक्रबार प्राधिकरणलाई पत्र पठाउँदै यस्तो निर्देशन जारी गरेको हो।
प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम उठाउन उद्योगहरूको लाइन काट्ने अनुमति माग्दै आयोगमा पत्राचार गरेको थियो। तर, आयोगले तथ्य प्रमाणित नभएको भन्दै लाइन काट्ने कार्य रोक्न भनेको छ। यो निर्देशनसँगै बक्यौता असुलीका लागि लाइन काट्ने प्राधिकरणको योजना तत्काल असफल भएको छ।
आयोगले प्राधिकरणलाई अरविन्दकुमार मिश्रको संयोजकत्वमा गठित समितिले प्रतिवेदन नबुझाएसम्म यथास्थितिमा राख्न सुझाएको छ। ऊर्जा मन्त्रालयले बक्यौता विवाद समाधानका लागि उक्त समिति गठन गरेको थियो।
यसअघि, डेडिकेटेड र ट्रंकलाइनको बक्यौता असुलीको विषयमा ऊर्जामन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच मतभेद देखिएको थियो। मन्त्री खड्काले घिसिङसँग स्पष्टीकरण सोधेका थिए भने पछिल्लो समय उनी प्राधिकरणको बोर्ड बैठकमा समेत सहभागी भएका छैनन्।
प्रतिक्रिया