कतारमा इरानको मिसाइल आक्रमण, नेपाली समुदायमा त्रास, अन्तर्राष्ट्रिय उडानहरू बन्द
कतारमा इरानले गरेको मिसाइल आक्रमणले त्यहाँ कार्यरत करिब ४ लाख नेपालीसहित सर्वसाधारणमा त्रास र बेचैनी फैलिएको छ। नेपाली दूतावास कतारका अनुसार, उक्त देशमा ठूलो संख्यामा नेपाली कामदार छन्।
सोमबार साँझ स्थानीय समयअनुसार करिब ७:५५ बजे इरानले कतारको सनैयामा रहेको अमेरिकी सैन्य अड्डालाई लक्षित गरी ५० भन्दा बढी मिसाइल प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिकी सेनाले यी मिसाइलहरूलाई आकाशमै निष्क्रिय पारेको समाचारमा उल्लेख छ। एक नेपाली प्रत्यक्षदर्शीका अनुसार, रातिको समयमा मिसाइल प्रहार हुँदा ठूलो आवाजसहित आकाशमा झिल्काहरू देखिए, जुन भूकम्पको आवाज र तारा खसे जस्तो अनुभव भएको थियो।
घटनापछि कतारका प्रमुख बजारहरू बन्द गरिएका छन्, र मानिसहरू घरभित्रै बेचैन अवस्थामा छन्। अमेरिकी सैन्य अड्डा वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। इरान र अमेरिकाबीच थप जवाफी कारबाही हुने आशंकाले स्थानीय स्तरमा त्रास थपिएको छ।
कतारी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय उडानहरू अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको छ। यसका कारण कतार एयरवेज, नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्सलगायतका व्यावसायिक उडानहरू अर्को सूचना नआएसम्म स्थगित छन्। कतारको हवाई क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
दोहामा बस्ने एक नेपालीले भने, “राति रकेट आउँदा भूकम्प गएजस्तो ठूलो आवाज आयो। आकाशमा ५० भन्दा बढी झिल्काहरू देखिए।”
प्रतिक्रिया