
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा तथा अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको प्राविधिक सहयोगमा एक दिवसीय योग तथा ध्यान कार्यक्रम सम्पन्न भएको छ। स्वस्थ जीवनशैली व्यवस्थापन तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम मंगलवार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्राङ्गणमा सम्पन्न गरिएको हो।
कार्यक्रममा योग तथा ध्यान अभ्यासमार्फत मानसिक स्वास्थ्य सुधार गर्ने उपायहरूबारे जानकारी दिइएको थियो। अनुसन्धानहरूका अनुसार योगले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने पुष्टि भएको छ। बदलिँदो जीवनशैली, खानपान तथा रहनसहनका कारण नसर्ने रोग विशेष गरी मानसिक स्वास्थ्य सम्बन्धी जोखिम बढिरहेको सन्दर्भमा योग ध्यान, स्वस्थ खानपान र सकारात्मक व्यवहारको अभ्यासले मानसिक रोगको रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

कार्यक्रममा योग गर्दा अपनाउनुपर्ने सावधानी, योगका नियम, ध्यान, प्राणायामका विधिहरू, सूर्य नमस्कारका चरणहरू तथा विभिन्न योग आसनहरूको प्रयोगात्मक अभ्यास गराइएको थियो। योगले जीवनशैली अनुशासित बनाउनका साथै मानसिक रूपमा शान्त, शारीरिक रूपमा स्वस्थ एवं आत्मिक चेतनासहित जिउन सिकाउने कला भएको प्रशिक्षकहरूले बताए।

उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र बहादुर मल्ल को अध्यक्षतामा सम्पन्न भएको थियो भने आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख कमल प्रसाद आचार्य ले प्राविधिक सहयोग पुर्याएका थिए। कार्यक्रमको सहजीकरण योग गुरु अशोक कुमार खनाल तथा स्वास्थ्य केन्द्रका प्राविधिक शुभाष शाही ले गरेका थिए। कार्यक्रममा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी तथा विष्णु प्रसाद पौडेल सहित करिब ५० जना प्रहरी कर्मचारी को सहभागिता रहेको थियो।

यसैबीच, अर्घाखाँची आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा छत्रदेव गाउँपालिका-४ मा रहेको एग्रो फरेष्ट्री बहुप्राविधिक शिक्षालय का आवासीय विद्यार्थी तथा शिक्षकहरूका लागि माघ २८ गतेदेखि चार दिवसीय योग ध्यान कार्यक्रम सञ्चालन भइरहेको छ।












प्रतिक्रिया