खगेन्द्र नवजीवन केन्द्रको बेतिथि : पीडित भन्छन्–मृत्यु पर्खिरहेका छौँ

भीमबहादुर सेजुवाल उमेरले झन्डै छ दशक पुगिसक्नुभएको छ । भारतको हिमाचल प्रदेशमा सडक दुर्घटना भएपछि शरीर सग्लो रहेन । परिवारको जिम्मेवारी र आर्थिक स्रोत जुटाउने अभिभाराले उहाँलाई भारत पुर्‍यायो तर अपाङ्गता बनाएर फर्कायो ।

Advertisement

मेरुदण्डमा गम्भीर चोट (स्पाइनल इन्ज्युरी) लागेपछि उहाँलाई उठ्न–बस्न पनि सहारा चाहिने भयो । मुगुका सेजुवालले सुषमा कोइराला मेमोरियल अस्पतालको शøयामा गहभरि आँसु पार्दै भन्नुभयो, “अहिले उपचार गर्नै नसक्ने अवस्थामा छु । मृत्यु नै पर्खिरहेको छु, केही हुनेवाला छैन जस्तो लाग्छ ।”

उहाँले लामो सुस्केरा हाल्नुभयो । ओछ्यानमा कोल्टो पर्न खोज्नुभयो तर शरीर सरेन । छेउमा बसेका सहयोगीले उहाँलाई अर्कोतिर फर्काउनुभयो । उहाँको ढाडमा गहिरो चोट छ । त्यसैको उपचारका लागि उहाँ सुषमा कोइराला अस्पतालमा गत पुस २६ गते भर्ना हुनुभएको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको आश्रयमा २०७० देखि बसिरहनुभएका सेजुवाललाई अहिले उपचारका लागि आर्थिक अभाव हुने हो कि भन्ने चिन्ताले पिरोलेको छ । राज्यले प्रत्येक वर्ष बजेट दिने, अपाङ्गता, अशक्तदेखि दृष्टिविहीनसम्मको आश्रय रेखदेखका लागि खुलेको सङ्घमा राम्रै होला भन्ने उहाँलाई लागेको थियो ।

तर, उपचारका लागि सङ्घका पदाधिकारीले देखाएको अनुदार शैलीले उहाँलाई आहत पुगेको छ । एक महिनाभन्दा बढी अस्पताल बसाइमा उहाँका दुई लाख रुपियाँ खर्च भइसकेको छ । अपाङ्ग सङ्घका अध्यक्ष साम्देन लामाले उपचार खर्चको आधा रकम मात्रै सङ्घले बेहोर्ने बताएपछि उहाँको चिन्ता बढेको हो । सेजुवालले भन्नुभयो, “अपाङ्ग सङ्घ अपाङ्गता भएकाहरूका लागि स्थापना भएको हो तर अहिले बुझ्दा हाम्रा लागि आउने रकम कता जान्छ, अचम्म लागेको छ ।”आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री