बुधबार, २५ असार २०८२

प्रदेश ६ को नाम कर्णाली, राजधानी वीरेन्द्रनगर,मन्त्रीकै फरक मत !

समयपोष्ट २०७४ फागुन १३ गते १:११

प्रदेश ६ को शनिबार बसेको संसद् बैठकले प्रदेशको नाम र स्थायी राजधानी तोकेको छ। प्रदेशसभाको शनिबार बसेको चौथो बैठकले नाम कर्णाली प्रदेश र स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउने निर्णय गरेको हो।

Advertisement

आजको अन्नपूर्ण पोष्टमा सुर्खेतबाट ललितबहादुर बुढाले लेखेका छन्, बैठकले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मतिले र प्रदेश राजधानी वीरेन्द्रनगर बनाउने प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित गरेको हो। एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसद्मा ‘प्रदेशको नाम कर्णाली राखियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मत पारित भयो। नामकरण प्रस्ताव मत विभाजनबाट पारित गरिएको हो।

प्रदेशसभाका ३९ जना सांसद (सभामुखबाहेक) मध्ये पक्षमा ३७ र विपक्षमा शून्य मत खसेको थियो। राजीनामा दिएका एमाले सांसद चन्द्रबहादुर शाही र बिरामी कांग्रेस सांसद झुवा विक बैठकमा उपस्थित थिएनन्। उपस्थित सबै सांसदले पक्षमा मतदान गरेपछि सभामुख राजबहादुर शाहीले प्रदेशको नाम कर्णाली राख्ने प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरेका थिए।

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्ताव दुईतिहाइभन्दा बढी मतबाट पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो। वीरेन्द्रनगर प्रदेश राजधानी बनाउने प्रस्तावका पक्षमा ३६ मत र विपक्षमा एक मात्र मत खसेको थियो।

राजधानीको प्रस्ताव पेस गर्दै सांसद शाहीले यो प्रदेशको राजधानीका लागि वीरेन्द्रनगरको विकल्प नभएको धारणा व्यक्त गरे। प्रस्तावमाथि एमाले सांसद गुलावजंग शाह र माओवादी सांसद गणेशप्रसाद सिंहले समर्थन जनाएका थिए। छलफलमा सांसदहरूले ऐतिहासिक महत्व बोकेको कर्णालीको पहिचान झल्कने गरी प्रदेशको नामकरण भएकोमा खुसी व्यक्त गरे।

Advertisement

उनीहरूले भौगोलिक सुगमता, प्रशासनिक सहजता, पूर्वाधारको उपलब्धता र पहुँचका हिसाबले वीरेन्द्रनगर नै राजधानीका लागि उपयुक्त भएको धारणा व्यक्त गरेका थिए। संसद् बैठक १५ गतेसम्मका लागि स्थगन भएको छ।

मन्त्रीकै फरक मत !

प्रदेश राजधानीसम्बन्धी प्रस्तावमा एक मन्त्रीले नै फरक मत राखे। विपक्षी सांसद शाहीले प्रदेश राजधानीका लागि प्रस्ताव गरेको वीरेन्द्रनगरको विपक्षमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले फरक मत राखेका थिए। मन्त्री भण्डारीले भने, ‘म वीरेन्द्रनगर राजधानी तोक्ने प्रस्तावको विरोधी होइन तर यसमा मेरो फरक मत दर्ज गर्न चाहन्छु। तत्कालका लागि वीरेन्द्रनगरकै पक्षमा छु तर भोलिका दिनमा यो संशोधन हुन सक्छ।’ उनले यसअघि प्रदेशको मौसमी राजधानी हुनुपर्ने बताउँदै आएका थिए। यसअघि आफूले उठाउँदै आएको मौसमी राजधानी (हिउँदमा सुर्खेत र वर्षामा जुम्ला) गरी दुईवटा राजधानी बनाउने मुद्दामा तत्कालका लागि पछि हटेको उनले बताए।

नाममा पक्ष, राजधानीमा विपक्ष

प्रदेशसभामा एक मात्र सांसद रहेको राप्रपाले प्रदेशको नाम कर्णाली राख्ने प्रस्तावका पक्षमा र राजधानीसम्बन्धी प्रस्तावमा भने विपक्षमा मतदान ग¥यो। राप्रपाबाट प्रदेशसभामा कालिकोटबाट समानुपातिकतर्फ निर्वाचित सांसद शोशिला शाहीले प्रदेशको नामको पक्ष र राजधानीमा विपक्षमा मतदान गरिन्। सांसद शाहीले कर्णालीको सभ्यता र पहिचान संरक्षण हुने गरी प्रदेशको नाम कर्णाली राखिएको भन्दै समर्थन रहेको बताइन्। तर, प्रदेशको भूगोलअनुसार मौसमी राजधानी हुनुपर्ने र कर्णाली क्षेत्रमा पनि एउटा राजधानी तोकिनुपर्ने उनको माग थियो।

उनले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गरेपछि अन्य सांसदले सच्याउन आग्रह गरेका थिए। राप्रपाका केही स्थानीय नेतालेसमेत टेलिफोन गरेर वीरेन्द्रनगरको पक्षमा मतदान गर्न आग्रह गरे पनि उनले केन्द्रको निर्देशन भन्दै अस्वीकार गरेकी थिइन्। पार्टी केन्द्रको निर्देशनअनुसार नै आफूले वीरेन्द्रनगर राजधानी बनाउने प्रस्तावको विपक्षमा मतदान गरेको उनको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री