मंगलबार, ६ साउन २०८२

लेवनानको ५० करोड डलर बराबरको ऋणपत्र कतारले किन्ने

समयपोष्ट २०७५ माघ ८ गते १०:५९

आर्थिक रूपमा सम्वृद्ध मानिने खाडी मुलुक कतारले ऋणग्रस्त लेवनानको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋणपत्र किनिदिने भएको छ ।

कतारी इमिर (राजा) अरब मुलुकहरूको आर्थिक सम्मेलनका लागि लेबनानको राजधानी बेरूत पुगेको भोलिपल्ट कतारले लेवनानको उक्त रकम बराबरको ऋणपत्र किनेर सहयोग गर्ने कतारले जनाएको हो ।“कतार सरकारले लेवनानी सरकारको ५० करोड बराबरको ऋणपत्र किनेर आर्थिक सङ्कटबाट गुज्रिरहेको अरब मुलुकलाई सहयोग गर्ने निर्णय गरेको छ,” कतार न्यूज एजेन्सीले विदेश मन्त्री मोहम्मद विन अब्दुलरहमान अल–थानीको विज्ञप्तिलाई उद्धृत गरेको छ ।“कतारका इमिर शेख तामिम विन हमाद अल–थानी र लेबनानी राष्ट्रपति मिसेल आउनबीच सोमबार भएको भेटवार्तापछि ‘लेबनानको अर्थतन्त्रलाई मजबुत’ पार्ने विश्वाससहित कतारले ऋणपत्र खरिद गर्ने निर्णय लिएको हो,” कतारी विदेशमन्त्रीले बताए।

“कतारले सधैँ गणतन्त्र लेबनान र त्यहाँका जनताको स्थायित्व र सम्वृद्धि चाहन्छ, र लेबनानको अर्थतन्त्र छिट्टै सुदृढ हुँदै पूर्व अवस्थामा आउनेमा कतार पूर्ण विश्वास गर्दछ ।” लेबनानी सरकारले कठिन एवम् ठूलो आर्थिक सङ्कट व्यहोरेका समय कतारले यो निर्णय लिएको हो ।
लेबनानका अर्थमन्त्रीले यसै महिना राज्यको सार्वजनिक ऋणबारे दिएको अभिव्यक्तिले यहाँको बजारलाई त्रसित तुल्याएको थियो । उनको उक्त घोषणाले लेवनानलाई विश्वका खराब अर्थतन्त्र भएका मुलुकहरूको सूचीमा रहेको पुष्टि गरेको छ ।गत बर्षको अप्रिलमा पेरिसमा भएको लेबनानको सहयोग र विकासका लागि अन्तराष्ट्रिय सम्मेलन (सीइडीआरइ) मा फ्रान्सले ११ अर्ब अमेरिकी डलर बराबरको सहयोग घोषणा गरिएको थियो ।

तर लेवनानमा करिब आठ महिना पहिले भएको निर्वाचनपछि पनि राजनीतिक विवादका कारण नयाँ सरकार स्थापना हुन नसक्दा सरकारविहीन अवस्था रहेको भन्दै राजनीतिक विवाद जारी रहेमा सहयोग रोकिने गत महिना चेतावनी दिएको थियो ।रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री