
प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनलागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म स्वीट्जरल्याण्डको डाबोसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा भट्टराईले मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने बताए । “मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पुरा गर्न सम्मेलनले थोरै भए पनि सहयोग पु¥याउनेछ”, उनले भने ।
विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताए ।
भ्रमणका क्रममा प्रधानमन्त्रीको विभिन्न सभा तथा विभिन्न देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीसँग भेटघाट हुने कार्यक्रमसमेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाइ छ । “सम्मेलनमा विदेशी मुलुकको ज्ञान, प्रविधि र पुँजी भित्र्याउन नेपालले प्रयोग गर्नुपर्छ”, उनले भने ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । “विश्वका दुई/चार वटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सके पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ”, उनले भने ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा डाबोस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने बताए। उनले सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख गरे ।
स्वीट्जरल्याण्डका लागि पूर्व राजदूत डा शम्भूराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भए पनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनुपर्ने बताए ।रासस










प्रतिक्रिया