आयल निगम १० अर्ब नाफामा, स्वचालित मूल्य प्रणालीले सुधार ल्याएको दाबी

नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले निगम हाल १० अर्ब नाफामा रहेको बताएका छन्। निगमको ५५ औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले निगमको आर्थिक सुधार र नवप्रवर्तनका प्रयासहरूबारे जानकारी गराएका हुन्।
कार्यक्रममा बोल्दै भट्टले भने, “समयमै अन्तिम लेखा परीक्षण कार्य सम्पन्न गरिएको छ। हामी करिब १० अर्ब नाफामा छौं।” उनले स्वचालित मूल्य प्रणालीको कार्यान्वयनपछि निगमको आर्थिक अवस्था बलियो बनेको बताउँदै यसको सकारात्मक प्रभावबारे प्रकाश पारे।
२०७१ सालदेखि लागू गरिएको स्वचालित मूल्य प्रणालीले इन्धनको मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी बनाएको र यसले विगतमा देखिएका समस्या समाधान गरेको उनले दाबी गरे।
“पहिले मूल्य निर्धारणका क्रममा निगमलाई घेराउ गर्ने, स्कुल-कलेज बन्द गर्ने, नेपाल बन्द गराउनेजस्ता समस्या हुन्थे। अहिले यी समस्याहरू समाधान भएका छन्,” उनले भने।
भट्टले ढुवानीमा हुने अनियमिततामा कमी आएको र निगमले केही नयाँ कामहरू शुरू गरेको पनि जानकारी दिए।
“सिनामंगल डिपो स्थानान्तरणको काम शुरू भएको छ। पेट्रोलमा इथानोल मिश्रण गर्न कार्यविधि तयार गरिएको छ। साथै, एलपीजीको घरायसी र व्यापारिक मूल्य फरक गर्ने कार्य पनि अघि बढाइएको छ,” उनले थपे।
 



























 
	
प्रतिक्रिया