शुक्रबार, १४ कार्तिक २०८२

सरेबुङ पासबाट सम्पर्कविहीन भएका सबै पदयात्री सुरक्षित

समयपोष्ट २०८२ कार्तिक १४ गते २१:२३


मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् ।

Advertisement

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरेबुङ पास प्रस्थान गरेका तीन अष्ट्रियन नागरिकसहित १४ जना पदयात्री केहीबेर अघि सम्पर्कमा आएका जनाउँदै सबै सुरक्षित रहेका बताउनुभयो । दुई साताअघि हिमालयन एडभेन्चर ट्राभल्समार्फत काठमाडौँबाट सरेबुङ हुँदै मनाङको फु गाउँको पदयात्राका लागि निस्किएका थिए । उहाँहरू अक्टोबर २६ तारिखमा लोघेकर–४ याराबाट सरेबुङ यात्राका लागि दामोदरकुण्डतर्फ प्रस्थान गरेका थिए ।

त्यसपछि तीनदिनदेखि सम्पर्कविहीन भएका हिमालयन एडभेन्चरले जनाएको थियो । जिल्ला प्रशासन कार्यालयलाई बिहीबार साँझ उहाँहरू सम्पर्कविहीन भएकाबारे जानकारी गराइएको हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले बताउनुभयो । आज बिहान पथप्रर्दशकमध्ये एक जनाले टेलिफोन सम्पर्क गरे पनि स्पष्ट कुराकानी हुन नसकेको उहाँले बताउनुभएको थियो ।

समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्ने सरेबुङ पास छिचोल्दै मनाङको फु गाउँ निस्किने योजनासहित लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड प्रस्थान गरेको उक्त टोली मङ्गलबारदेखि सम्पर्कविहीन भएको थियो । मङ्गलबारदेखि परेको भारी हिमपात र प्रतिकूल मौसमका पदयात्री सम्पर्कविहीन भएका व्यवस्थापक मैनालीले बताउनुभयो ।

प्रजिअ भुसालका अनुसार सरेबुङ पदयात्रामा निस्किएका सबै पदयात्री भारी हिमपातका कारण तीन दिनसम्म दामोदरकुण्ड धर्मशालामा सुरक्षित बसेका जानकारी प्राप्त भएको छ । सबै पदयात्री सम्पर्कमा आएसँगै आज साँझ दामोदरकुण्डबाट अगाडि बढ्न नसकेपछि पैदल यात्रामार्फत सुरक्षित रूपमा यारा गाउँमा आइपुगेका उहाँले जानकारी दिनुभयो ।

Advertisement

प्रजिअ भुसालले उच्च स्थानमा अवस्थित दामोदरकुण्डमा रहेको धर्मशालामा खाने, बस्नेलगायत अत्यावश्यक सुविधा भएकाले सम्पर्कविहीन पदयात्रीलाई सुरक्षित रहन सहज भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री