शुक्रबार, १४ कार्तिक २०८२

नयाँ पार्टी बनाउने झलनाथको घोषणा

समयपोष्ट २०८२ कार्तिक १४ गते २१:२०


नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टी पुनर्गठन गर्ने घोषणा गरेका छन्।

Advertisement

शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको नेकपा (माओवादी केन्द्र)सहितका दलहरूसँग एकता गर्ने प्रस्ताव बहुमतले पारित भएपछि खनालले यस्तो घोषणा गरेका हुन्।

बैठकमा खनालले अध्यक्ष नेपालमाथि कडा आरोप लगाउँदै भने, “अध्यक्ष नेपालले एमालेबाट विद्रोह गरेर बनाएको पार्टीलाई अन्ततः माओवादीमा लगेर ‘विसर्जन’ गर्नुभयो।” उनको यो अभिव्यक्तिपछि बैठक हलमा होहल्ला मच्चिएको थियो।

खनालले बोल्न खोज्दा माइक काटिएको र आफूलाई बोल्न नदिएको भन्दै उनले नेपालको तानाशाही प्रवृत्तिको गुनासो गरे।

“विद्रोहदेखि विसर्जनसम्म माधव कमरेडको यात्रा टुङ्गियो,” खनालले भने, “हामी यही पार्टीका साथीहरू मिलेर नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्छौँ। नभए नयाँ पार्टी बनाउँछौँ।”

Advertisement

खनाल बोलिछाड्ने अडानमा रहेपछि अध्यक्ष नेपालले बैठक सकियो भन्दै हलबाट बाहिरिएका थिए। विवादका बीच अध्यक्ष नेपाल पक्षले अघि सारेको एकताको प्रस्ताव बहुमतले पारित भएको छ।

उपाध्यक्ष जगन्नाथ खतिवडाले अब छिट्टै माओवादी केन्द्र, नेसपासहितका अन्य दलहरूलाई समेटेर एकीकृत पार्टीका रूपमा निर्वाचन आयोगमा दर्ता गरिने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री