कात्तिक शुक्ल नवमीः कुष्माण्डा नवमी पर्व मनाइँदै

प्रत्येक वर्ष कात्तिक शुक्ल पक्ष नवमी तिथिका दिन मनाइने कुष्माण्डा नवमी पर्व आज अमला र पिपलको पूजा गरी मनाइँदै छ ।
कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्नुहुनेछ । यो दिन अमला अथवा पिपलको विवाह गरिदियो भने पुण्य प्राप्त भएर जन्मान्तरसम्म पनि नाश हुँदैन भन्ने विश्वास रहिआएको छ ।
यो दिन अमलाको बोटबाट अमृत प्राप्त हुने भएकाले प्रत्येक व्यक्तिले अमलाको पूजा गर्नु उत्तम मानिन्छ । अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूललगायत सामग्रीले पूजाअर्चना गर्नुपर्छ । पूजा गरिसकेपछि पहेँलो धागोले अमलाको रूखको परिक्रमा गराइन्छ ।
आयुर्वेदिक औषधीका रूपमा उपयोग गरिने अमला अमृत मानिन्छ । त्रिफला चूर्ण बनाउँदा आवश्यक पर्ने तीन जडिबुटीमध्ये अमला एक हो । हर्रो, बर्रो र अमला मिलाएर बनाइने त्रिफला चूर्ण धेरै रोगको उपचारमा प्रयोग गरिने आयुर्वेदिक चिकित्सक डा वंशदीप शर्मा खरेलले बताउनुभयो ।
पद्मपुराण अनुसार कात्तिक शुक्ल नवमीको दिन द्वापर युगको आरम्भ भएको थियो । यसै दिन भगवान् विष्णुले कुष्माण्ड नाम गरेको दैत्यको वध गर्नुभएको हुनाले यो दिनलाई कुष्माण्ड नवमी भनिएको खरेलले बताउनुभयो । कुष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएकाले यो दिन कुभिन्डो दान गर्नाले अनन्त कोटि फल प्राप्त हुन्छ ।
आजको दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा, तामाको भाँडामा तिल राखेर दान गर्ने व्यक्तिले आफूले चिताएको फल प्राप्त गर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो । कुष्माण्डा नवमीका अवसरमा आज मकवानपुरमा रहेको कुष्माण्डा सरोवरमा मेला लाग्ने गर्दछ ।




























प्रतिक्रिया