खगेन्द्र सुनार अदालतमा हाजिर

खगेन्द्र सुनार काभ्रेपलान्चोक जिल्ला अदालतमा उपस्थित भएका छन् ।
उनी विद्युतीय कारोबार ऐनसम्बन्धी मुद्दामा बयान दिन हाजिर भएको अदालतका स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन् ।
अधिवक्ता मनिषा गौतमको जाहेरीमा दायर मुद्दामा सुनार फरार प्रतिवादी थिए ।
श्रममन्त्रीमा सिफारिस भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको सार्वजनिक भएको थियो ।
काभ्रे अदालतले गत ५ साउनमा दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पुर्जी काटेको थियो । गौतमले सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिनसट प्रमाणसहित विद्युतीय अपराधको मुद्दा दायर गरेकी थिइन् ।
कानुन व्यवसायीसहित अदालतमा उपस्थित सुनारको बयान अहिले जारी छ । बयान सकिएलगत्तै आजै थुनछेक बहस हुने अदालतको तयारी छ । सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
सुनारका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले सुनारको सपथ रोकेकी थिइन् ।




























प्रतिक्रिया