पुटिनलाई ट्रम्पको चेतावनी : युद्ध नरोके युक्रेनलाई मिसाइलहरू पठाउनेछु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताउनुभएको छ । सोअनुसार यदि मस्कोले युक्रेनमाथिको आक्रमण रोक्ने प्रयास नगरे किएभले टोमाहाक क्रुज मिसाइलहरू प्राप्त गर्न सक्छ ।
राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै भन्नुभयो, “म पुटिनसँग पुनः कुरा गर्न सक्छु र भन्न सक्छु – ‘हेर्नुहोस्, यदि यो युद्ध समाप्त हुने छैन भने, म युक्रेनलाई टोमाहाक पठाउनेछु ।’”
उहाँका अनुसार अगस्ट महिनामा अलास्कामा भएको पुटिनसँगको भेटवार्ताले अपेक्षित शान्ति सम्झौता जन्माउन सकेन । त्यसपछि ट्रम्प प्रशासनले युरोपेली साझेदारहरूमार्फत किएभलाई लामो दूरीका मिसाइल आपूर्ति गर्ने विषयमा छलफल गरिरहेको छ ।
“युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार भएको टेलिफोन संवादमा अमेरिकाबाट नयाँ हतियार आपूर्ति, विशेषगरी टोमाहाकबारे माग गर्नुभएको थियो”, ट्रम्पले भन्नुभयो, “टोमाहाक आपूर्ति कुनै आक्रामक कदम होइन, तर यो आवश्यक सन्देश हो — के उनीहरू ती मिसाइलहरू आफ्नो दिशामा आउन चाहन्छन् ? मलाई लाग्दैन ।”
रुसी राष्ट्रपति पुटिनले यसअघि नै वासिङ्टनलाई चेतावनी दिँदै किएभलाई टोमाहाक मिसाइल आपूर्ति नगर्न आग्रह गर्नुभएको थियो । उहाँका अनुसार त्यसले अमेरिकासँगको सम्बन्धमा ठूलो तनाव ल्याउन सक्नेछ र युद्ध अझ बढ्न सक्छ ।
राष्ट्रपति ट्रम्पले भने यो युक्रेन युद्ध आफ्नो कार्यकालमा समाधान गर्न चाहने प्रमुख चुनौतीहरूमध्ये एक रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार अब चौथो वर्षमा पुगेको यो युद्ध सन् २०२२ फेब्रुअरीमा सुरु भएको हो, जब रुसले पश्चिम समर्थक युक्रेनमाथि पूर्ण आक्रमण आरम्भ गरेको थियो ।
ट्रम्पले अहिले पनि गाजा शान्ति सम्झौता र मध्यपूर्वीय स्थायित्वका लागि इजरायल र इजिप्ट भ्रमण गरिरहनुभएको छ । उहाँको भनाइमा शान्ति सम्भव छ, तर त्यसका लागि दुवै पक्षले दृढ इच्छाशक्ति देखाउनुपर्छ ।रासस/एएफपी
प्रतिक्रिया